बर्दियाको बढैयाताल-७ पढाइ कुना युक्त वडा घोषणा
संजय आचार्य । गुलरिया
बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ७ मा पढाइ कुना युक्त वडा घोषणा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा युनेस्को क्लब बाँके, बढैयाताल गाउँपालिकासँगको सहकार्यमा सञ्चालित जीजीएस प्रोजेक्टको पहलमा सोमबार एक घर एक पढाइ कुना स्थापना अभियान सम्पन्न भइ बढैयाताल-७ लाई ‘एक घर एक पढाइ कुना युक्त वडा’ घोषणा गरिएको हो ।
बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा प्रत्येक घरमा अध्ययनमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले एक घर एक पढाइ–कुना अभियान सञ्चालन गरिएको थियो ।
पढाइ कुनाले घरमै अध्ययन गर्ने बानीको विकास, बालबालिकामा पढाइप्रति रुचि बढाउने तथा अभिभावकलाई शैक्षिक जिम्मेवारीप्रति थप सचेत बनाउने काम गरिरहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले वडा नं ७ मा ८७ प्रतिशत घर परिवारमा पठाइ कुनाको पहुच भएको बताउदै प्रत्येक घरमा सानो भए पनि अध्ययनका लागि छुट्टै स्थान निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बालबालिकाको सिकाइ उपलब्धि बढाउन घरको वातावरण महत्वपूर्ण हुने उल्लेख गर्दै पढाइ–कुनाले बालबालिकालाई नियमित अध्ययनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बढैयाताल-७ का वडा अध्यक्ष राधेश्याम थारूले ‘एक घर एक पढाइ कुना’ अभियानले घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले अभियानको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको शैक्षिक उपलब्धिमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले यस्ता कार्यक्रमले शैक्षिक सुधारसँगै बालबालिकामा अनुशासन, सिर्जनशीलता र बौद्धिक विकासमा समेत टेवा पुग्ने दाबी गर्नुभयो । पछिल्लो समय मोबाइल फोनको बढ्दो प्रयोगका कारण धेरै विद्यार्थीको पढाइ प्रभावित भइरहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन र सकारात्मक चिन्तन तथा मननमा समय खर्च गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गरेका थिए । कार्यक्रमका सहभागी तथा स्थानीयवासीहरूले अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वडा स्तरमै शैक्षिक सुधारको नमुना प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।









