बेसार सुकाउने सोलार ड्रायर निर्माण कार्यक्रमको सार्वजनिक सुनुवाइ

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिका–६ स्थित सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन गरिएको “बेसार सुकाउने सोलार ड्रायर निर्माण” कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आर्थिक सहयोगमा निर्माण गरिएको सोलार ड्रायरसम्बन्धी कार्यक्रमको सार्वजनिक सुनुवाइ सहकारी संस्थाको प्रांगणमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाकी अध्यक्ष खुमाकुमारी पोख्रेलको अध्यक्षता रहेको थियो भने एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्रमुख कमला अधिकारी प्रमुख अतिथि रहनु भएको थियो। गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे तथा संस्थाकी पूर्वअध्यक्ष एवं लेखा समिति संयोजक इन्दिरा सुवेदीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरिएको बेसार सुकाउने ड्रायर निर्माण कार्यक्रमको कुल लागत १७ लाख ६२ हजार ६६४ रुपैयाँ रहेको छ। जसमध्ये ८ लाख रुपैयाँ अनुदान र बाँकी ९ लाख ६२ हजार ६६४ रुपैयाँ संस्थाको लगानी रहेको जनाइएको छ। निर्माण कार्य २०८२ चैत्र २३ गते सम्झौता भई २०८३ जेठ ३१ गते सम्पन्न भएको जानकारी दिइयो।

कार्यक्रममा बोल्दै संस्थाकी पूर्वअध्यक्ष तथा लेखा समिति संयोजक सुवेदीले जिल्लामै पहिलो पटक बेसार प्रशोधनको कार्य सफलतापूर्वक सञ्चालन भएको बताउँदै यस उपलब्धिमा स्थानीय तह, विभिन्न निकाय तथा समुदायको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्नुभयो। उहाँले महिलाद्वारा सञ्चालित सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले आगामी दिनमा स्थानीय उत्पादन र कृषि उद्यमलाई थप प्राथमिकता दिने बताउनुभयो।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले सहकारीले लामो संघर्षपछि निरन्तर प्रगति गर्दै आएको भन्दै यस कार्यक्रमले किसानहरूलाई उत्पादन र प्रशोधनतर्फ आकर्षित गर्न सहयोग पुगेको धारणा राख्नुभयो।
प्रमुख अतिथि कमला अधिकारीले कार्यालयले हरेक वर्ष यस्ता कार्यक्रमलाई सहयोग र नियमित अनुगमन गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बेसार उत्पादन र प्रसोधन लाइ अझ ठूलो परिमाणमा सञ्चालन गरी लगानीको उचित प्रतिफल सुनिश्चित गर्न सुझाव दिनुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै खुमा कुमारी पोख्रेलले खाद्य गुणस्तर अनुगमनका क्रममा कच्चा पदार्थ सुरक्षित भण्डारणका लागि गोदाम आवश्यक रहेको सुझाव प्राप्त भएको बताउनुभयो। उहाँले आगामी बजेटमा गोदाम निर्माणका लागि सहयोग उपलब्ध गराइदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो। साथै, उत्पादनको बजारीकरणमा हाल समस्या नरहेको उल्लेख गर्दै संस्थाको दिगो विकासका लागि आगामी वर्ष पनि बजेट विनियोजन गरिदिन अनुरोध गर्नुभयो।
सहकारीले सञ्चालन गरेको सोलार ड्रायरमार्फत स्थानीय रूपमा उत्पादित बेसारको गुणस्तरीय प्रशोधन, मूल्य अभिवृद्धि तथा किसानको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।