लायन्सले बनाए रक्तदाता खोज्न लायन्स ब्लड डोनर्स मोबाइल एप
नेपालगन्ज : बाँके र बर्दियाका लायन्स क्लबहरुले सहज तरिकाले रक्तदाता खोज्न लायन्स ब्लड डोनर्स मोबाइल एप बनाएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको एरिया नं. ४ ले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा लायन्स ब्लड डोनर्स नामक मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
जीके इट सोलुुसनले तयार पारेको एपमा अनलाइनबाटै वा फोन गरेर रक्तदातालाई सिधा सम्पर्क गर्न सकिने एप निर्माता सुधन नेपालले जानकारी दिए । उनका अनुसार एपमा रगत समूह वा व्यक्तिको नामका आधारमा पनि रक्तदाता खोज्न सकिने व्यवस्था गरिएको छ । पहिलो चरणमा बाँकेका ३२२ जना रक्तदाताको विवरण उल्लेख छ ।
‘रगत आवश्यक परेको व्यक्तिले अनलाइनबाट सूचना पठाउँछ । दाताले पनि अनलाइनबाटैै प्रतिक्रिया जनाउँछन् । वा उसले यो सन्देश अर्को रक्तदातालाई पनि पठाउन सक्छ । रक्तदातालाई मोबाइल नं. वा ह्वाट्स एप मार्फत पनि सिधा सम्पर्क गर्न सकिनेछ’, उनले प्रष्ट पारे, ‘अनलाइनबाट खाजा मगाए जस्तै । मोबाइल एपबाट ट्याक्सी वा बाइक सेवा लिए जस्तै रगत दान सेवा लिन सकिनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सोमबार मोबाइल एपको शुभारम्भ गरे । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले एप सम्बन्धी सम्पूर्ण जिम्मेवारी पनि नगर प्रमुख विष्टलाई हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख विष्टले रगतको अभावमा भौतारिने बिरामीका लागि राहात दिन मोबाइल एप बनाएको बताए । ‘एपले रगत दिनुपर्छ भन्ने सचेतना पनि जगाउँछ । रगत दिने फाइदा बारे पनि जानकारी दिनेछ’, उनले भने, ‘तपाईले दिएको रगत कसलाई प्रयोग भयो भन्ने पनि थाहा हुनेछ । रगत दिए बापत धन्यवाद पनि पाउनु हुनेछ ।’
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, डिष्ट्रिकका रक्तदान कार्यक्रम संयोजक संजय थापा र एरिया नं. ४ का एरिया चिफ पुष्कर थापाले लायन्स क्लबहरुले हरेक वर्ष रक्तदानका कार्यक्रम गर्दै आए पनि रगत अभाव भइरहने र रगतको अभावमा बिरामीको स्वास्थ्य जोखिममा पर्ने खतरा देखेकाले त्यसको अन्त्य गर्न छिटो, छरितो र निःशुल्क रुपमा रगतदान सेवा दिन मोबाइल एप प्रभावकारी हुने दाबी गरेका थिए ।
रेडक्रस सभापतिलाई सम्मान
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनालाई सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ र एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काले फुलको बुके, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी २०२८ सालदेखि खेलकुद र रेडक्रसका माध्यमबाट सेवाका क्षेत्रमा क्रियाशील रहेको सम्मान पत्रमा उल्लेख छ । बाँके जिल्लामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसञ्चारको शाखा सञ्चालन गरिरहेको छ ।









