खाली खुट्टा स्कुुल आउजाउ गर्ने मदरसाका विद्यार्थीलाई भीजी फाउण्डेसनबाट जुत्ता र झोला
नरैनापुर : काठमाडौंको भी.जी.फाउडेशनले बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका खाली खुट्टामा स्कुल जाने विद्यार्थीलाई जुत्ता सेट, झोला र स्टेशनरी सहयोग गरेको छ ।
३ असारको मेरोखुसी डटकम र अन्नपूर्ण पोस्ट् दैनिकमा तातो तावा जस्तो सडक, खाली खुट्टामैै विद्यार्थी शीर्षकको समाचार प्रकाशित भएपछि भी.जी.फाउण्डेशनका निर्देशक अशोककुमार अग्रवालको पहलमा पठाइएका सामग्री एनआइसी एशिया नेपालगन्ज शाखा प्रबन्धक मीनराज ज्ञवाली र बैंकका कोहलपुर शाखा प्रबन्धक दीपेन्द्र रावलले मंगलबार विद्यालय पुगेर हस्तान्तरण गर्नु भएको हो । खाली खुट्टामा विद्यालय जाने विद्यार्थी जुत्ता, मोजा र झोला पाउँदा निकै खुसी देखिन्थे ।
बैंक प्रबन्धक ज्ञवालीले चर्को गर्मीको बेला विद्यार्थी खाली खुट्टामा विद्यालय गइरहेको खबर पढेपछि सहयोग गरेको बताउनु भयो । मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले विपन्न परिवारका बालबालिका पढिरहेका विद्यार्थीलाई सहयोग गरेर हौसला बढाएको भन्दै प्रशंशा गर्नुभयो । उहाँले विद्यालयमा अरु पनि थुप्रै समस्या समाधानमा साझेदारी गर्न आग्रह गर्नुभयो । विद्यालयमा कक्षा कोठा र शिक्षकको अभावमा बहुकक्षा सञ्चालन भइरहेको छ । यसअघि नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकेको टोलीले २५० थान चप्पल वितरण गरेको थियो ।









