गुलरिया-८ का ५० किसानलाई सिँचाइ गर्ने मोटर सहयोग

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकाको वडा नं. ८ ले ५० किसानलाई सिँचाइका लागि मोटर सहयोग गरेको छ । वडा अध्यक्ष धर्मेन्द्रकुमार बनियाका अनुसार कृषि उत्पादन बृद्धि र सिँचाइ व्यवस्थालाई सहज बनाउन ५० जना कृषकलाई विद्युतीय मोटर वितरण गरिएको हो।

मोटर वितरण कार्यक्रमका लागि वडाले १२ लाख रुपैयाँ विनियोजन गरेको थियो। कार्यक्रममा कम्तीमा पाँच कट्ठा जग्गा भएका वडा नम्बर ८ का कृषकहरूको २० प्रतिशत लागत सहभागिता रहेको थियो। किसानबाट संकलित रकम नगरपालिकामा जम्मा गरी टेन्डर प्रक्रियामार्फत खरिद गरिएका ५० थान मोटर सोमबार वितरण गरिएको वडा अध्यक्ष बानियाँले बताउनु भयो ।
अध्यक्ष बनियाले कृषकलाई उत्पादनमुखी बनाउन वडा कार्यालयले विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिनुभयो । यसअघि ३५ जना कृषकलाई करिब ८ लाख रुपैयाँ बराबरका बोरिङ सेट पूर्ण रूपमा निःशुल्क वितरण गरेको थियो । त्यस्तै, २०४ जना कृषकलाई करिब ८ लाख रुपैयाँ बराबरका चार्जिङ स्प्रे ट्याङ्की पनि निःशुल्क उपलब्ध गराइएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँका अनुसार वर्षायाममा समयमै वर्षा नहुने समस्या र सिँचाइको आवश्यकतालाई ध्यानमा राख्दै कृषकलाई सहज बनाउन विद्युतीय उपकरण वितरण गरिएको हो। उहाँले वितरण गरिएका सामग्रीको सही सदुपयोग गरी कृषि उत्पादन र आम्दानी बढाउन किसानसँग आग्रह गर्नुभयो।

वडा अध्यक्ष बनियाले वडा समितिभित्र सबै पक्षको सक्रिय र एकताबद्ध सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कार्यकालको बाँकी अवधिमा विकास निर्माण र कृषकको हितका लागि सबै जनप्रतिनिधिलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो । जनताले गरेको विश्वासलाई कायम राख्दै आगामी दिनमा पनि जनसेवामा समर्पित रहने उहाँले प्रतिबद्धता जनाउनु भयो ।