बर्दिया अदालतमा लक्ष्यको ९७ प्रतिशत मुद्दा फछर्यौट

नेपालगन्ज : जेनजी आन्दोलनका क्रममा जोगिएको बर्दिया जिल्ला अदालतले गत आर्थिक वर्षमा लक्ष्यको ९७ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले शुक्रबार बाँकेमा आयोजना गरेको पत्रकार भेटघाटमा अदालतका अदालतमा मुख्य भइ काम गर्ने न्यायाधीश वामदेव ज्ञवालीका अनुसार बर्दिया अदालतले १ हजार ३ सय ५४ मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएकोेमा १ हजार ३ सय १२ मुद्दा फछर्यौट गरेको थियो । लक्ष्यभन्दा ४२ वटा मुद्दा मात्र फछर्यौट गर्न सकेको थिएन । जुन कुल लक्ष्यको ९६.८९ प्रतिशत प्रगति हो ।
अदालतमा लक्ष्यभन्दा बढी मुद्दा दायर भएका थिए । गत वर्ष १ हजार ९ सय ९४ मुद्दा परेका थिए । जसमध्ये ६८२ मुद्दा फछर्यौट हुन बाँकी छ । दायर भएका कूल मुद्दाका आधारमा भने अदालतले ६५.७९ प्रतिशत मात्र प्रगति गरेको छ ।
जेनजी आन्दोलनमा आगजनीमा परेर ४ महिना सेवा बन्द भएको भउच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले भने पूराना मुद्दा फछर्यौटमा सफलता पाएको छ । न्यायाधीश वामदेव ज्ञवालीका अनुसार १८ महिना पुगेका १५ वटा मात्र मुद्दा फछर्यौट गर्न बाँकी छन् । ‘गत आर्थिक वर्ष २०८२/०८३ मा २ वर्ष नाघेका मुद्दा शून्य भयो । १८ महिना पूरा भएका मुद्दा पनि शून्य बनाउने योजना थियो । जेनजी आन्दोलनपछि चार महिना अदालतको काम ठप्प हुँदा लक्ष्य अनुसार काम हुन सकेन । यही साउन महिनाभरी सबै मुद्दा फछर्यौट गर्ने हाम्रो योजना छ’, न्यायाधीश ज्ञवालीले प्रतिबद्धता जनाउनु भयो ।
सर्वोच्च अदालतको रणनीतिक योजनाले १८ महिना नकटाएर मुद्दाको फैसला गर्र्नुपर्ने उल्लेख छ । यो योजना अनुरुप सर्वोच्च बाहेकका सबै अदालतमा आगामी पुस मसान्तभित्र १८ महिना पूराना मुद्दा शून्य बनाइसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ । जुन उच्च अदालतले सहजै पूरा गर्ने देखिएको छ ।
आन्दोलनकै कारण अदालतमा समग्र मुद्दा फछर्यौट भने प्रभावित भएको छ । आव ०८०/०८१ मा ७१.४१ र आव ०८१/०८२ मा ७५.६० प्रतिशत प्रगति भएकोमा गत आवमा भने अघिल्लो आवसँग तुलना गर्दा १३.१४ प्रतिशतले फछ्यौट घटेको छ । गत वर्ष ६२.६० प्रतिशत मात्र प्रगति भएको छ ।
अदालतलेशुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘आन्दोलनमा ७५३ वटा मिसिल जलाइयो । अदालतमा ६ जना न्यायाधीश छौं । पाँच वटा इजलास मध्ये आगजनीका कारण तीन वटा मात्र सञ्चालन गरेका छौं । अरु इजलास सञ्चालन गर्नै सकेका छैनौं ।’
अदालतमा कूल २ हजार १ सय ६३ मुद्दा रहेकोमा १ हजार ३ सय ५४ मुद्दा फछर्यौट भएका थिए । अहिले ८०९ वटा मुद्दा बाँकी रहेका छन् ।
बाँके जिल्ला अदालतको मुद्दा फछर्यौट भने दयनीय छ । जहाँ ३८.७८ प्रतिशत मात्र फछर्यौट प्रगति भएको छ । अदालतमा ७ हजार ४७ मुद्दा रहेकामा २ हजार ७ सय ३३ मुद्दा मात्र फछर्यौट भएका छन् । अझै ४ हजार ३ सय १४ मुद्दा फछर्यौट हुन बाँकी छन् । यो अदालतमा १८ महिना नाघेका मुद्दा नै ५ सय १४ छन् । ‘आगजनीका कारण त्यहाँका धेरै मिसिल जलेका छन्’, न्यायाधीश ज्ञवालीले भन्नुभयो, ‘छुट्टै योजना बनाएर पुस मसान्तभित्र पूराना मुद्दा फछर्यौट गर्न निर्देशन दिएको छु ।’
जिल्ला अदालतमा कर्णाली विकासबैंकको घोटाला सम्बन्धी मुद्दा पनि छ । त्यो मुद्दामा १०९ प्रतिवादी छन् । ३ जना पुर्पक्षका लागि थुनामा छन्् भने फरार रहेको भनिएकामध्ये अहिलेसम्म ३२ जना मात्र अदालतमा हाजिर भएर बयान दिइरहेका छन् । अदालतले दिएका आदेश कार्यान्वयनको अवस्था बुझ्न उच्च अदालतमा छुट्टै डेस्क स्थापना गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा अदालतका अदालतमा मुख्य भइ काम गर्ने न्यायाधीश ज्ञवालीका साथै न्यायाधीशहरु मुनिन्द्र अवस्थी, शकुन्तला घिमिरे र कोशलचन्द्र सुवेदी, निमित्त रजिष्ट्रार गम्भीर राना मगर, सूचना अधिकारी बलबहादुर विष्ट र शाखा अधिकृत अमृता केसीको सहभागिता रहेको थियो ।