नरैनापुरमा एक वर्षमा १ हजार बढीले लिए सुत्केरी सेवा

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको वर्थिङ सेन्टरबाट १ हजार बढीले सुत्केरी सेवा लिएका छन् ।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका हुन्। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८८१ थियो ।
वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।
शाह घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको बताउनु हुन्छ । वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।.
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगन्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको दाबी गर्नुहुन्छ ।
पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन् । गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन् ।