नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभा शनिबार नै हुने, उच्च अदालतद्वारा रिट खारेज
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले भोेलि शनिबार नै साधारणसभा गर्ने भएको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले २९ साउनसम्म साधारणसभामा लगाएको रोकलाई निरन्तरता दिन नपर्र्ने आदेश गरेपछि संघको पूर्वनिर्र्धारित समयमै साधारणसभा हुने भएको हो । अदालतका न्यायाधीशद्वय मदन पोखरेल र दलबहादुर केसीको संयुक्त इजलासले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि रिट दायर भएकाले अदालतले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन भनेर आदेश जारी गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय ध्रुवप्रसाद बस्याल र लोकबहादुर शाह, अधिवक्ताहरु तीर्थराज ज्ञवाली, माधवप्रसाद शर्मा, वासुदेव ज्ञवाली र विकास आचार्यले वहस गर्नुभएको थियो भने रिट निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय भोलासिंह हमाल र सुनिलकुमार श्रेष्ठ, अधिवक्ताद्वय प्रहदबहादुर कार्की र सर्वदेवप्रसाद ओझाले बहस गर्नु भएको थियो ।
रिट निवेदन दायर भए पनि संघले साधारणसभा र निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेको थिए । संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओेलीका अनुसार शनिबार पूर्वनिर्धारित कार्यक्रम अनुसार नै बिहान ८ बजेदेखि साधारणसभाका कार्यक्रम सुरु हुनेछ ।









