खजुरा-२ मा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
खजुरा : बाँकेको खजुरा गाउँपालिकामा बालबालिका र किशोरकिशोरीका लागि साइबर सुरक्षा तथा सामाजिक सञ्जालसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा युवा अभियानको आयोजना, खजुरा गाउँपालिका वडा नम्बर २ को सहयोग, लियो क्लब अफ नेपालगन्ज खजुरा तथा वडा स्तरीय बाल सञ्जाल र वडा स्तरीय किशोरी सञ्जालको समन्वय र सहकार्यमा आइतबार खजुरा गाउँपालिका वडा नं. २ मा रहेका माध्यमिक तहका ६ वटा विद्यालयका ८,९ र १० कक्षाका विद्यार्थी, किशोरकिशोरीलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।
“बालापनको रक्षा ः भविष्यको सुरक्षा” भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अनलाइन सुरक्षा र डिजिटल सचेतना आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
लियो जिल्ला परिषद् ३२५ एन नेपालका फस्ट भाइस प्रेसिडेन्ट वसन्त बस्नेतले साइबर सुरक्षा तथा सामाजिक सञ्जाल सम्बन्धी सचेतनाका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले बालबालिका तथा युवायुवतीलाई सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवार प्रयोग, साइबर सुरक्षा, अनलाइनमा हुन सक्ने जोखिम तथा त्यसबाट बच्ने उपायका विषयमा जानकारी गराउनु भएको थियो।
युवा अभियान लुम्बिनी प्रदेश महासचिव अन्जना धितालको अध्यक्षता र खजुरा २ का वडा अध्यक्ष धनराम ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि ओलीले अहिलेका बालबालिका तथा किशोरकिशोरीले साइबर सुरक्षा र सामाजिक सञ्जालको सदुपयोगबारे सही जानकारी पाउन अत्यावश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि बालबालिका तथा किशोरकिशोरीलाई पढ्दै कमाउँदै गर्न सक्ने, सक्षम र सीपमूलक बाटोमा हिँडाउन सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष युवा अभियान लुम्बिनी प्रदेश महासचिव अन्जना धितालले बालबालिका तथा किशोरकिशोरीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न सिकाउनुका साथै उनीहरूलाई साइबर अपराधको जालोबाट बचाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले कार्यक्रममा सिकेका कुराहरू बालबालिका तथा किशोरकिशोरीले आफूमा मात्र सीमित नराखी अरूलाई पनि सिकाउने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा,
खजुरा गाउँपालिका वडा नम्बर २ का ६ वटा मावि तहका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरू ,किशोरी सञ्जाल र बाल सन्जालका बालबालिका, पत्रकार, लुम्बिनी प्रदेश स्तरीय किशोर सञ्जालका अध्यक्ष, श्री जनज्योति माध्यमिक विद्यालय बराताल सुर्खेतका शिक्षक, गरी ४७ जनाको सहभागिता रहेको थियो।









