मातृत्व चक्रमा रहेका एक तिहाइ बढी महिलामाथिको हिंसा डरलाग्दो

नेपालगन्ज : नेपालमा मातृत्व चक्र (गर्भावस्था, प्रसव र प्रसवोत्तर समय) मा रहेका महिलामाथि डरलाग्दो हिंसा, दूर्व्यवहार र महिला अधिकार हननको अवस्था डरलाग्दो भएको एक अध्ययनले देखाएको छ ।
एम्पलीफाई चेन्ज र महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) काठमाडौंले सोमबार नेपालगन्जमा पत्रकार र महिला अधिकारकर्मीबीच आयोजना गरेको छलफल कार्यक्रममा संस्थाले नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तर महिलाहरुले भोगेका दूर्व्यवहार, हिंसा र अधिकार उल्लंघन सम्बन्धी तथ्य अन्वेषण अध्ययनले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका झण्डा आधा महिला यस्ता हिंसाको शिकार भएको जानकारी दिइयो ।

अधिवक्ता दिपेश श्रेष्ठका अनुसार कर्णाली प्रदेशका प्रसवोत्तर महिला र सुदूरपश्चिम प्रदेशका प्रसव महिलाले समान ४८.८ प्रतिशत र मधेश प्रदेशमा ४५ प्रतिशत गर्भवती महिलाले हिंसा भोगेका हुन् ।

देशैभरीमा गर्भवती महिला ३८.४ प्रतिशत, प्रसव महिला ३७.९ प्रतिशत र प्रसवोत्तर महिला ३५.९ प्रतिशतले हिंसा भोगेको रिपोर्टमा उल्लेख छ ।

संस्थाले देशका ७ वटै प्रदेश, १४ जिल्लाका २८ स्थानीय तहमा गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा रहेका १ हजार ६८० महिलामाथि गरेको अध्ययन गरेको थियो ।

कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले गर्भावस्था तथा प्रसवका क्रममा महिलाले पाउनुपर्ने अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा महिलामाथि हुने दुव्र्यवहारका विभिन्न पक्षबारे जानकारी गराउनु भएको थियो । उहाँले महिलाको प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वसँग जोडिएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता श्रेष्ठले गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलामाथि हुने हिंसा, दुव्र्यवहार र अधिकार उल्लंघनका कानुनी पक्षबारे प्रस्तुतीकरण गर्दै महिलामाथि हुने हिंसा तथा विभेदका घटनामा कानुनी उपचार र अधिकारको प्रयोगका विषयमा जानकारी गराउनुभएको थियो । नेपालको कानुनमा हिंसा भएमा कानुनी कारबाहीमा जेल सजाय र जरिवानाको व्यवस्था गरिएको छ ।

कार्यक्रममा सहभागी पत्रकार तथा महिला अधिकारकर्मीहरूले गर्भावस्था र प्रसवका समयमा महिलाले स्वास्थ्य संस्था तथा परिवारभित्रै भोग्नुपर्ने व्यवहार, स्वास्थ्य सेवामा पहुँच, सम्मानजनक प्रसूति सेवा, गोपनीयता, सूचनाको अधिकार तथा हिंसाबाट संरक्षणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।