बर्दियाको मधुवनमा ‘जिउरा जगैना’ सांस्कृतिक कार्यक्रम सम्पन्न
संजय आचार्य । बड्कीटडुवा
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिका–१, बड्कीटडुवामा आयोजित ‘जिउरा जगैना सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ।
‘हमार संस्कृतिस् हमार गौरव’ भन्ने मूल नाराका साथ गेँडा गेँडौली बड्कीटडुवा उपभोक्ता समिति मधुवन नगरपालिका–१ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष छेदुराम थारूले गर्नुभएको थियो। कार्यक्रमलाई मधुवन नगरपालिका सानोश्री बर्दियाले सहयोग गरेको आयोजकले जनाएको छ।
थारू समुदायका मौलिक कला, भेषभूषा, गीत तथा परम्पराहरूको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो समय लोप हुने जोखिममा रहेका परम्परागत सांस्कृतिक अभ्यासलाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संस्थाका अध्यक्ष छेदुराम थारुले बताउनु भयो ।
कार्यक्रममा ११ वटा गाउँका ११ समूह सहभागी भएका थिए। प्रत्येक समूहमा १२ जना कलाकार सहभागी थिए। कलाकारहरूले आफ्नो मौलिक भेषभूषामा सजिएर विभिन्न थारू सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा विशेषगरी दशैँको अवसरमा प्रस्तुत गरिने प्रसिद्ध हुरुङ्वा (हुदुङ्वा) नृत्यले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यसैगरी थारू समुदायका मौलिक ब्रम्हासा, राम ककरहा, कहरा, गिलाप र बिहग्रा लगायतका परम्परागत गीतहरू प्रस्तुत गरिएको थियो।
आफ्नो मौलिक पहिरनमा सजिएका कलाकारहरूको उत्साहजनक सहभागिता र विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमस्थललाई उल्लासमय बनाएको थियो। सहभागीहरूले गीत तथा नृत्यमार्फत थारू समुदायको जीवनशैली, परम्परा र सांस्कृतिक पहिचान झल्काएका थिए ।
थारू समुदायको मौलिक पहिचानलाई जीवन्त राख्न तथा परम्परागत कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन स्थानीयस्तरमा आयोजना गरिने यस्ता सांस्कृतिक कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास लिएको पूर्व अध्यक्ष विपत थारुको धारणा रहेको छ। ‘जिउरा जगैना’ जस्ता कार्यक्रमले समुदायमा सांस्कृतिक जागरण बढाउनुका साथै मौलिक परम्पराको निरन्तरता र संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।









