१०औं राष्ट्रिय खेलकुद : पौडीमा थप ४ नयाँ कीर्तिमान
नेपालगन्ज : दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप बुधबार चार नयाँ कीर्तिमान बनेका छन् ।
पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतिका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टाइलमा एनआरएन लीली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको हो ।
नेपालगन्ज स्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदूरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफनो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभयो। यसअघि उहाँको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो ।
महिला तर्फको ८०० मिटर फ्रिस्टायलमा लीलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाउनु भयो । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लीलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्ड सहित काँस्य पदक हासिल गर्नुभयो ।
यसैगरी बुधबार बागमति प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदैं स्वर्ण पदक जित्नुभयो । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाउनु भएको थियो । प्रधानले स्वर्ण जित्दा बागमतिका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्ड सहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्ड सहित काँस्य पदक गर्नुभयो ।
त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।
बुधबार प्रतियोगितामा पदक जित्ने खेलाडीलाई ओलम्पियन सुरेन्द्र हमाल र पार्वती थापाले पुरस्कृत गर्नु भएको थियो ।










