बाँकेमा लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग हुँदै !
नेपालगन्ज : सार्वजनिक सरोकार कानून व्यवसायी समूहले लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानभर लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गर्ने जनाएको छ ।
अभियान नोभेम्बर महिनाको २५ तारेखदेखि डिसेम्बर १० तारेखसम्म सञ्चालन गरिन्छ ।
समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार नेपालगन्जमा बसेको बैठकले विशेष गरि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानभर समूहमा आबद्ध कानून ब्यवसायीहरुले कानूनी सहायता परेका पीडितहरुलाई सेवा दिने स्वघोषणा गर्नु भएको समूहका सहसंयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो। बैठकले सार्वजनिक सरोकारका मुद्दामा निरन्तर वकालत तथा पैरवी गर्ने, सार्वजनिक सरोकारका विषयमा विभिन्न अदालतबाट भएका महत्वपूर्ण फैसलाको प्रभावकारी कार्यान्वयन, नयाँ सार्वजनिक सरोकारका विषयको पहिचान र न्यायिक उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्ने कार्यलाई आगामी दिनमा प्राथमिकता दिने गरि जिम्मेवारी बाँडफाँड गरिएको छ ।
समूहमा संयोजक वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह तथा अधिवक्ता वसन्त गौतम, महासचिव विकास आचार्य, सचिव सुनिता शर्मा, सदस्यहरू अधिवक्ता विश्वजित तिवारी, बलबहादुर चन्द र सुरेशकुमार गौतमलगायतका समूहमा आबद्ध कानून व्यवसायी तथा सदस्य अधिकारकर्मी भोला महतको सहभागिता रहेको थियो।










