धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियसलाई, कसले जिते कुन पुरस्कार ?
नेपालगन्ज : १२औं धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याका जुलियस मुरिउकीले जित्नु भएको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न म्याराथनमा मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दुरी पुरा गर्दै उपाधि जित्नु भएको हो । उहाँ पहिलोपटक नेपालगन्ज म्याराथन जित्ने पहिलो विदेशी खेलाडीले बन्नु भएको छ । उहाँले नगद दुई लाख, ट्रफी र पदक प्राप्त गर्नुभयो ।
म्याराथनमा कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो हुनुभयो । कुलबहादुरले नगद एक लाख र कृष्णबहादुरले पचास हजार प्राप्त गर्नुभयो । उहाँहरुले क्रमशः २ः२३ः०१ घण्टा तथा २ः२४ः२९ घण्टाको समय निकाल्नु भएको थियो ।
त्यस्तै करन रावल (२ः२७ः२३ं), भुपेन्द्र चालिसे (२ः२७ः५२), कर्णबहादुर रोका मगर (२ः२८ः०६), एल्काना किमेली (२ः२९ः४१), राजन चौधरी (२ः३०ः५२), कमलराज तिमल्सिना (२ः४१ः४८) र निरज भट्ट (२ः५३ः५८) सहित क्रमशः शीर्ष दश स्थानमा आउनु भयो। शीर्ष दश स्थानभित्र आउनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार र पाँच पाँच हजार प्राप्त गर्नुभयो ।
महिला हाफ म्याराथनमा जुम्लाकी राज्यलक्ष्मी रावतले १ः२७ः३४ घण्टाको समय निकाल्दै च्याम्पियन बन्नुभयो । यसमा सम्झना लिम्बुले १ः२८ः२८ घण्टा तथा सरस्वती भट्टराईले १ः३०ः३५ घण्टा र अगा लिम्बुले २ः५९ः१० घण्टाको समय निकाल्दै पाँचौं स्थान हासिल गर्नुभयो। हाफ म्याराथनका शीर्ष खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र दश हजार नगद पुरस्कार प्राप्त गर्नुभयो।
दश किलोमिटर खुला पुरुषतर्फ गणेश रावत, बलबहादुर राई र बुद्धिराम भुसाल क्रमशः पहिलो दोस्रो र तेस्रो हुनु भयो । शीर्ष तीन खेलाडीले २५ हजार, १५ हजार र दश हजार नगद प्राप्त गर्नुभयो । पाँच किलोमिटर खुला पुरुषतर्फ दामोदर बस्नेत, रितेश घर्ती मगर र प्रकाश यादव तथा महिला खुलातर्फ स्वस्तीका शाही, सरिता राना र अप्सरा बम ठकुरीले क्रमशः शीर्ष तीन स्थान हासिल गर्नुभयो । शीर्ष तीनले दश हजार, पाँच हजार र दुई हजार नगदबाट पुरस्कृत हुनु भयो।
ह्वीलचेयर रनतर्फ यज्ञबहादुर खत्री, मनकुमारी परियार, देवकुमारी थारु, श्यामकली थारु र थमन थारुले शीर्ष पाँच स्थान हासिल गर्नुभयो। उहाँहरुलाई पाँच हजार, तीन हजार, दुई हजार र एक एक हजार प्रदान गरियो ।
कर्पोरेट रनतर्फ इन्जिनियर प्रविण बस्नेत, डा. विश्वनाथ शर्मा, इन्स्योरेन्स म्यानेजर नवीन शर्मा र डा. जोसन न्यौपानेले शीर्ष चार स्थान हासिल गर्नुभयो । ५ किलोमिटरतर्फको स्कुल स्तरीय दौड प्रतिस्पर्धा विहिन बनाइयो । कलिला बालबालिकामा जितहारको मनोविज्ञानबाट मुक्त गर्न सबैलाई पदक प्रदान गरिएको आयोजकले जनाएको छ । विजयी खेलाडीहरुलाई मिस नेपाल वल्र्ड दीपमाला ढकाल, केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगड, अर्का निर्देशक दिव्या दुगड, शिखर प्लाईकी निर्देशक कुसुम दुगड, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, संस्थापक सदस्य जनक नेपाल, नेपालगन्ज उपमहानगरपालिकाका पूर्व उपप्रमुख उमा थापा मगर, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्यसचिव भीम ओलीलगायतले पुरस्कृत गर्नु भएको थियो । यस अघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले म्याराथनको उद्घाटन गर्नु भएको थियो ।










