नेपालगन्ज कनक्लेभ : खेल, पर्यटन, उद्यमशीलता, साहित्य, संस्कृति र संघीयता बहसको संगम
नेपालगन्ज : बाँकेको नेपालगन्जमा एकैदिन युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्य ४ सेसनमा विषयमा बहस गरिएको छ । धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणको पूर्वसन्ध्यामा शुक्रबार नेपालगन्जमा छैटौँ नेपालगन्ज कनक्लेभमा विभिन्न विधामा विमर्श गरिएको हो ।
खेल, पर्यटन र युवा कनक्लेभको पहिलो सत्र ‘खेल, पर्यटन र युवा : सम्भावनाको नयाँ ढोका’ शीर्षकमा भएको थियो ।
विशाल रानामगरले मोडरेटर गरेको कार्यक्रममा एभरेष्ट म्याराथनका सिइयो शिखर पाण्डे, नेपाली महिला क्रिकेट टीमकी पहिलो क्याप्टेन नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल दिपमाला ढकाल सहभागी हुनुहुन्थ्यो ।
नेपाली युवा आफ्नो सपना पूरा गर्न विदेश गइरहेका छन् । हङकङमा जन्मिनु भएकी दिपमाला ढकाल भने आफ्नो सपना पूरा गर्न नेपाल आएको बताउनुभयो । दिपमालाले विदेशमा गएर होइन आफ्नै देशमा बसेर सपना पूरा गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो सपना पूरा गर्न धेरै मेहनत गर्नुपर्ने बताउँदै हरेक दिन गर्ने गतिविधिले त्यसको निर्धारण गर्ने बताउनुभयो । मिस नेपाल भनेको बाहिरी सुन्दरतामात्रै नभई यो जिम्मेवारीसहित सेल्फ कन्फिडेन्सको पदवी भएको बताउनुभयो ।
नेपाली महिला क्रिकेट टीमकी पहिलो क्याप्टेन नेरी थापामगरले प्रतियोगिताहरु नहुँदा खेलाडी उत्पादन हुन नसकेको बताउनुभयो । १७ वर्ष क्रिकेटमा बिताउनु भएकी नेरीलाई खेलमा लाग्न सहज वातावरण थियो । घरपरिवारका सदस्यहरु नै खेल क्षेत्रमा लागेकाले नेरीलाई खेलमा आउन सहज भएको थियो । नेपाली महिला क्रिकेट टीम बन्दा नेरीसहित ७ जना बाँकेका थिए । अहिले राष्ट्रिय टीममा एक जना पनि नपर्दा आफूलाई दुःख लागेको नेरीले बताउनुभयो । उहाँले यहाँ अन्तर्राष्ट्रियस्तरको मैदान नहुनु पनि खेल र खेलाडी पछाडि पर्नुको कारण भएको बताउनुभयो ।
पर्यटन व्यवसायी केशव न्यौपानेले पर्यटन व्यवसायलाई बढाउन स्थायी सरकार र राम्रो नीति हुनुपर्ने बताउनुभयो । उहाँले सरकारको नीतिले यो व्यवसायमा ठूलो प्रभाव पार्ने बताउनुभयो । न्यौपानले संघर्ष बिना सफलता प्राप्त हुँदैन भन्दै अप्ठेरोमा गाडेको जरो बलियो हुँदा सिद्धार्थ हस्पिटालिटी नेपालकै अग्रणी बन्दै गएको बताउनुभयो ।एभरेष्ट म्याराथनका सिइयो शिखर पाण्डेले हिमालमा सञ्चारको सुविधा पुग्दा प्रतियोगिता गर्न सजिलो भएको बताउनुभयो । उहाँले प्रतियोगिता हुँदा सुरक्षालाई ध्यानमा राखेर हेलिकोप्टर टीम नै तयारी अवस्थामा राख्ने गरेको बताउनुभयो । पाण्डेले एभरेष्ट म्याराथनमा पर्यटन बढ्दै गएर अन्तराष्ट्रियस्तरको भएको बताउनुभयो ।
युवा उद्यमीमार्फत व्यवसाय कनक्लेभको दोस्रो सेसन युवा उद्यमीमार्फत व्यवसायको विस्तार शीर्षकमा भएकोे थियो ।
एनजीसी सदस्य एवं इन्जिनियर तर्कराज भट्ट, चार्टर्ड एकान्टेन्ट तेजप्रकाश दीक्षित, मनोसाराहा नेपालका संस्थापक रक्षा रेग्मी र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओली यो प्यानलमा हुनुहुन्थ्यो । प्यानालिष्टले उद्यमी बन्न पूँजी, बजार, सीप, नीति र शिक्षा आवश्यक रहेको बताउनु भयो ।
इन्जिनियर तर्कराज भट्टले उद्यम बन्न र व्यापारलाई विस्तार गर्न राम्रो मान्छेलाई राम्रो ठाउँमा सेट गर्न सक्नु पर्ने बताउनुभयो । उहाँले कोभिडपछि उद्यमी बन्ने बाटोमा हिडेको बताउनुभयो । आफूसँग पढेका ९० प्रतिशत बाहिर रहेको जानकारी दिदै भट्टले नेपालमै उद्यमी बन्न सकिने बताउनुभयो ।
चार्टर्ड एकान्टेन्ट तेजप्रकाश दिक्षितले क्लियरकट योजना बनाएर लाग्दा जुनसुकै फिल्डमा सफल हुन सकिने बताउनुभयो । उहाँले साथीभाई मिलेर व्यवसाय सुरु गर्ने र कठिन परिश्रम गरेर अघि बढ्ने तथा सफल भइसकेपछि झगडा गरेर प्रवृत्ति देखिएको बताउनुभयो ।
मनोसाहारा नेपालका संस्थापक रक्षा रेग्मीले मनोवैज्ञानिक सेवामा जनचेतनाको कमी रहेको बताउनुभयो । उहाँले यो सेवामा विश्वास जित्नु ठूलो चुनौती रहने गरेको बताउनुभयो । रेग्मीले आफूहरुको उद्देश्य हरेक व्यक्तिलाई आफ्नो मनोभावना बुझ्न सक्षम बनाई जीवनमा आइ पर्ने चुनौतीहरु व्यवस्थापन गर्नु रहेको बताउनुभयो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी ओलीले नेपालमा स्थिर सरकार बनेकाले लगानी बढेको तर उपभोक्ता नै देशमा नरहने वातावरण बन्दै गएको बताउनुभयो । १८ वर्षदेखि व्यापारमा लागेका ओलीले ज्ञानको अभाव र दक्ष जनशक्ति नहुँदा समस्या पर्ने गरेको बताउनुभयो ।
सेसनको पवित्रबहादुर गौतमले मोडरेटर गर्नु भएको थियो ।
तीन तहका सरकार कार्यक्रको तेस्रो शत्रको रुपमा तीन तहका सरकार, कति सहज, कति अप्ठेरो ? शीर्षकमा बहस केन्द्रीत थियो । सो अवसरमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारु, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदीले तीन तहका सरकारका बीचमा समन्वयमा अभाव रहेको स्वीकार गर्नु भएको थियो। उहाँहरुले योजना समन्वयमा अभाव देखिएको बताउनुभयो ।
प्यानालिष्ट मन्त्री थारु, नगर प्रमुख विष्ट र उप प्रमुख सुवेदीले संघको योजनामा रहेको बाटो बिग्रिँदा प्रदेश र स्थानीय सरकारले गाली खानु परिरहेको बताउनुभयो । ‘संघको योजना बन्दा र काम हुँदा समन्वय हुँदैन, बिग्रेपछि प्रदेश र स्थानीय सरकारले गाली खान्छ,’ उहाँहरुले भन्नुभयो । लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजीत थारुले संविधानमा लेखिएको सबै अधिकार संघबाट प्रदेशमा हस्तान्तरण नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँले संघीय निजामति ऐन, प्रहरी समायोजन नहुँदा समस्या भइरहेको बताउँदै स्रोत साधन संघले ४० र प्रदेश तथा स्थानीयले ६० प्रतिशत पाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । मन्त्री थारुले हिजोका शासक र जनप्रतिनिधिले शासन गर्थे भने अहिलेकाले सेवा गरिरहेको बताउनुभयो ।
नेपालगन्जका नगर प्रमुख विष्टले संघ र प्रदेशले योजना दिनुअघि स्थानीय सरकारसँग समन्वय गर्न जरुरी रहेको बताउनुभयो । संघले खटनपटन गर्ने प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुँदा काममा बाधा परेको विष्टको भनाई थियो । उहाँले संस्थागत घरबहाल कर, इरिक्सा व्यवस्थापनजस्ता कुरा स्थानीय तहले सहजीकरणबाहेक केही गर्न नसकेको बताउनुभयो ।
कोहलपुरका उप प्रमुख सुवेदीले स्थानीय तहले गर्न नसक्ने कामका लागि पनि जनताले दबाब दिने गरेको बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहको कानून बाँझिएकाले काम गर्न गाह्रो भइरहेको बताउनुभयो । सुवेदीले विकास पूर्वाधार निर्माणमा प्रदेश र संघका जनप्रतिनिधिको रुचीले बाधा पुग्ने गरेको बताउनुभयो ।
सेसनको तुला अधिकारीले मोडरेटर गर्नु भएको थियो ।
कथा लेखनको कथा बाह्रखरी कथा प्रतियोगिताले साहित्यको विकासमा ठूलो भूमिका खेलेको साहित्य सम्बद्धले बताएका छन् ।
कार्यक्रममा ‘कथाको भविष्य र प्रकाशनको चुनौती : सन्दर्भ बाह्रखरी कथा’ भन्ने सेसनमा साहित्यकारहरुले ८ वर्षदेखि बाह्रखरीले प्रतियोगिता आयोजना गरेर लेखकलाई प्रोत्साहन गरिरहेको बताउनु भएको हो ।
बरिष्ठ कथाकार सनत रेग्मीले साहित्यको विकासका लागि प्रतियोगिताले ठूलो भूमिका खेल्ने बताउँदै यसले नयाँ लेखक जन्माउने र उर्जा थप्ने बताउनुभयो । रेग्मीले अहिलेको डिजिटल युगमा कथा लेख्दा सामाजिक संरचना, सोच, हाम्रो सभ्यता र संस्कृतिलाई समेटेर अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले समाजलाई उत्प्रेरित गर्ने कथा लेख्नु पर्ने बताउँदै एआई संस्कृतिबाट लेखक बच्नु पर्नेमा जोड दिनुभयो ।
फाइन प्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरीले आयोजना गरेको प्रतियोगिता नेपालको प्रकाशन क्षेत्रमा एउटा अद्भूत काम भएको बताउनुभयो । उहाँले यस प्रतियोगिताले नेपालमा कस्ता लेखक आइरहेका छन् भन्ने देखाउने बताउनुभयो । भारीले नेपालमा नयाँ पुस्तक आउँदा बजारमा आकर्षण कम भएको स्वीकार गर्दैै पुस्तक आउन भने नरोकिएको बताउनुभयो । उहाँले अहिले अंग्रेजीसँग प्रतिस्पर्धा भइरहेको खुलाउनुभयो ।
कथाकार सरस्वती सरसले बालबालिकाले प्रविधिलाई साध्यको रुपमा ग्रहण गर्दा मानवीय अस्तित्व नै संकटमा पर्न सक्ने चिन्ता गर्नुभयो । अस्तित्वको एल्गोरिदम शीर्षकको कथा लेखेर बाह्रखरीमा तेस्रो पुरस्कार जित्नु भएकी सरसले एक दशकदेखि बालबालिकाको क्षेत्रमा काम गर्दा र आजका बालबालिकाको प्रविधिसँग देखिएको लगावले चिन्ता बढाएको बताउनुभयो ।
कथाकार मधुर भट्टराईले २०८३ को कथा प्रतियोगितामा दोस्रो भएपछि आफ्नो लेखाईमा केही रस रहेछ भन्ने अनुभूति भएको बताउनुभयो । उहाँले प्रतियोगिताले हिड्ने राजमार्ग बनाइदिएको बताउनुभयो । यो सेसनको मोडरेटर नयनराज पाण्डेले गर्नु भएको थियो ।
मञ्चमा बहुभाषिक र देउडाकनक्लेभमा देउडा र बहुभाषिक कविता घन्किएको छ । लामो समयदेखि कार्यक्रममा बसेका सहभागीलाई अन्तिम सेसनमा राखिएको देउडा र बहुभाषिक कविताले मनोरन्जनसँगै उत्साह थपेको थियो ।
विष्णुकान्त आचार्य र खगेन्द्रप्रसाद न्यौपानेको टीमले गाएको देउडामा सहभागी झुमेका थिए । ‘सुदूर र कर्णालीको बाँके मावली घर, शासन र प्रणाली यो देशमा फेरिनु पर्छ, देउडा संस्कृति जोगाउन चुनौती छ’लगायत गीत गाउँदा सहभागीले वाह–वाहको हुटिङ गरेका थिए ।
सोम डेमनडौरा, निर्मला शर्मा, हरि सुवेदी, देवकी निरौला, तेजप्रकाश दीक्षित, मीना बराल, डा.राजकुमार थारु, विष्णुलाल कुमाल, मो. मुस्तफा अहमद कुरैसी, चरित्रा शाह, नुरुल हसन राई र रेशम विरहीले कविता वाचन गर्नु भएको थियो । यो सेसनको मोडरेटरमा सर्वर नेपाली हुनुहुन्थ्यो ।
सेसनअघि कार्यक्रमबारेमा जानकारी दिदै नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले नेपालगन्जलाई विचार, विमर्श र अन्तरक्रियाको थलो बनाउने जमर्कोअन्तर्गत नेपालगन्ज कनक्लेभको सुरुवात गरेको बताउनुभयो । उहाँले पुरानो सहर, धार्मिक, भाषिक विविधतालाई बोकेको नेपालगन्जलाई विचार, विमर्श, साहित्य र खेलकुदलाई जोडेर नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन गर्दै आएको बताउनुभयो । नेपालले नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन यहाँको साझा कार्यक्रम भएको बतउानुभयो ।
कनक्लेभका सहनिर्देशक इन्जिनियर अर्सदकमल सिद्विकीले कार्यक्रमलाई समापन गर्दै नेपालगन्जको सम्भावना, चुनौती र अवसरलाई एकैथलोमा मन्थन गर्न कनक्लेभ आयोजना गरेको बताउनुभयो ।










