शनिबार, कार्तिक १५, २०७७ / Saturday 31st October 2020

सहयोग अभियानबाट अनन्त आत्मसन्तुष्टि

सामाजिक कार्यमा सधैं सफल भइँदैन । यस्ता कार्यमा जसभन्दा अपजस पाइन्छ तर सबैभन्दा ठूलो खुसीको कुरा आफूलाई अनन्त आत्मसन्तुष्टि प्राप्त हुन्छ
लेखक : नमस्कार शाह

‘यो जीवन अरुका लागि होइन भने यो जीवन नै होइन’, मदर टेरेसाको यो भनाइ सेवाको क्षेत्रमा लाग्न चाहने हरेक व्यक्तिका लागि प्रेरणा बन्नसक्छ । निस्वार्थ भावनाले जीवनभर समाज सेवामा लाग्ने मदर टेरेसाको जीवनीदेखि मलाई सेवा क्षेत्रमा लाग्न उर्जा मिलेको छ । म आबद्ध संस्था बासले समस्यामा परेका नागरिकका लागि संस्थागत रुपमा अभियान नै सन्चालन गरेको छ । अरुको जीवनरक्षा र खुसीका लागि बासले निस्वार्थ रुपमा सन्चालन गरेका अभियानबारे चर्चा गरौं :

आइते बुढाको घर
हरित अभियन्ता हेमन्तराज काफ्ले शितलचिनीको बिरुवा बाँड्छन् । शितल चिनीको खेती गर्ने कोहलपुरका लोकेन्द्र सुनारको निमन्त्रणामा खेती हेर्न २०७६ मंसिरको अन्तिम साता काफ्ले बाँकेको बैजनाथ गाउँपालिका वडानं ४ स्थित नौवस्ताको चिल्नेटा गाउँ पुगे । उनले खेतीसँगै चरम गरिबीमा जीवन गुजारिरहेका एक बृद्धलाई छाप्रोमा देखे । ६० वर्षिय आइते बुढाको परिवार आधा कर्कट पाता र आधा टायलले छाएको एक कोठे छाप्रोमा बस्थे । टिन र कर्कट पाताका प्वाल खर र परालले टालिएको थियो । ४ जनाको परिवार परालको बिछ्यौनामा पराल नै ओढेर सुत्थे । सुत्ने कोठामा बाख्रासमेत बाँध्ने गरेको कहाली लाग्दो दृश्य देखेर उनी भावुक भए । तत्काल एक हजार सहयोग गरेर उनी नेपालगन्ज फर्के । नेपालगन्ज पुगेपछि फेसबुकमा ‘देशमा सर्वहारा वर्गको पार्टी कम्युनिष्टको सरकार छ । नौवस्तामा आइते बुढा पराल ओढेर परालमैं सुत्छन् । यो कस्तो बिडम्वना, सबै मिलेर केही सहयोग गर्ने की’ भनेर स्टाटस लेखे । उनलाई सहयोग जुट्न सुरु भयो । केही व्यक्तिले लत्ता, कपडा र खाद्यान्न सहयोग गरे । काफ्लेले एकल रुपमा शुरुवात गरेको सहयोग अभियानलाई साथ दिन मन लाग्यो । आइते बुढाको समस्या म आबद्ध संस्था बासका साथीहरुलाई सुनाए । सामाजिक कार्यमा निरन्तर लागिरहेका काफ्ले अलि बढि भावुक भएका कारण उनको स्टाटसलाई साथीहरुले पत्याएनन् । त्यति चासो दिएनन् । त्यसपछि मेरो आग्रहमा हेमन्तजीले आइते बुढाको घर हेर्न जाने व्यवस्था मिलाए । बासका अध्यक्ष रमेश सिटौला, नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष नन्दलाल वैश्य, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाहसहित म र हेमन्तजी आइतेको घर पुग्यौं । हेमन्तजीले भनेको, फेसबुकमा लेखेको भन्दा पनि बिजोगपूर्ण अवस्था पाएपछि सबै सहयोग गर्ने अठोटका साथ फर्कियौं । फर्के लगत्तै बासले काफ्लेकै संयोजकत्वमा आइते बुढा सहयोग समिति गठन ग-यो । जसमा म लगायत अन्य साथीहरु सदस्य बन्यौं ।

समितिले आर्थिक सहयोग संकलन गरि बुढाको घर बनाउन बसोवासको उचित प्रबन्ध गरिदिने उद्देश्यमा जुट्यो । आउनै लागेको बर्षातमा बुढाको बसाईमा समस्या हुने देखेर सहयोग समितिले समितिका सदस्य लोकेन्द्र सुनारको संयोजकत्वमा निर्माण समिति गठन गरि लकडाउनकै बीचमा २ कोठे घर निर्माण कार्य शुरु गरियो । विभिन्न सहयोगी दाताबाट १५ दिनको अवधिमा संकलित रकम १ लाख ५३ हजार ४ सय ८८ रुपैंयाको लागतमा दुई कोठे पक्की घर र शौचालय निर्माण भयो । १० असारमा प्रदेशसभा सदस्य आइपी खरेलले आइते बुढालाई चाबी दिएर घर हस्तान्तरण गरे । घरको चाबी प्राप्त गरेपछि ६० वर्षिय आइते बुढा हर्षित देखिए । जाजरकोटबाट २० वर्ष अघि बसाइँसराइ गरेर आएका आइतेको परिवार पहिलो पटक हिउँद, वर्षा ओतलाग्ने सुरक्षित र व्यवस्थित घरमा बस्न पाउँदा उनी जति खुसी छन् । उनीभन्दा घर बनाउन पहल गर्ने हामी कम खुसी छैनौं । खुसी मात्र होइन, हामी उत्साहित छौं । कम्तीमा बर्षमा एउटा घर बनाउन सकिन्छ कि भनेर ? मनैदेखि सामाजिक कार्य गर्ने अभिरुचि र उत्कट चाहनाले केही प्रयासहरु निरन्तर हुँँदै आएको छ । कहिले सफल भइन्छ । कहिले भईंदैन । यस्ता कार्यहरुबाट जसभन्दा अपजस नै पाइन्छ तर सबैभन्दा ठूलो खुसीको कुरा आफूलाई अनन्त आत्मसन्तुष्टि प्राप्त हुन्छ ।

मधुकरलाई सहयोग
सुप्रसिद्ध गायक, गीतकार, साहित्यकार प्रेमप्रकाश मल्ल महेन्द्र मधुकर हामी माझ छैनन् । कलिलो उमेरमा छोरा गुमाएर पींडाबोध गरिरहेका मल्ल एकै पटक विभिन्न रोग, व्याधिबाट थला परे । जसको पींडा त उनलाई थियो नैं त्यो भन्दा बढि पीडा उनलाई साहित्यकार, कलाकारहरुबाटै भएको उपेक्षाबट भयो । अझ उनको जीवनमा अर्काे बज्रपात तब भयो, जब उनकी एक मात्र साहारा अर्धांिगनी महेन्द्र कुमारी मल्ल आफ्नो साथ छोडेर सदाका लागि विदा भइन् । एक दशक पहिले जब मल्ल अशक्तताका कारण सक्रिय कलाकारिताबाट टाढिए, त्यतिखेर नैं उनको स्वास्थ्योपचारका लागि सरकार अघि सर्नुपथ्र्याे । सरकार दायित्वबाट त बिमुख भयो नैं समाजसमेत आफ्नो कर्तव्यबाट टाढियो । त्यसबेला नेपालगन्जका गायक कन्हैया सिंहको संयोजनमा २०५९ सालमा हामीहरुले राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम गरि ३७ हजार मल्ललाई सहयोग गर्यौं । त्यसैगरी २०६७ साल माघ २८ र २९ गते चर्चित मदन पुरस्कार बिजेता कथाकार महेशविक्रम शाहको बिशेष सहयोग र बागेश्वरी असल शासन क्लब (बास) को आयोजनामा मल्ल सहयोगार्थ बृहद् साँस्कृतिक कार्यक्रमका साथै फुटबल प्रतियोगिता सम्पन्न गरियो । जसबाट दुई लाख नगद मल्ललाई सहयोग गरियो । मल्ललाई बचाउन त सकिएन तर उनको उपचारका लागि सहयोग गर्न पाउँदा अन्तरहृदयदेखि खुसीको महसुस हुन्छ ।

विन्दु कुँवर बचाउ अभियान
सरकारी सेवासँगै सामाजिक योगदानका कारण लोकप्रिय रहेकी महिला विकास अधिकृत विन्द कँुवर पनि क्यान्सरबाट थला परिन । कुँवँरको स्वास्थ्योपचारका लागि पनि सहयोग अभियान सञ्चालन गरियो । उनलाई बचाउन सकिएन । गत २५ जेठमा निधन भयो । क्यान्सर रोगले पीडित भइ उपचारमा समस्या भएपछि हामीले बिन्दु कुँवर उपचार सहयोगार्थ समिति गठन गरी सहयोग संकलन गरेका थियौं । संकलित ६ लाख ४ हजार ४ सय ३६ रुपैयाँ २०७६ वैशाख २२ गते नेपालगन्जमा कुँवरलाई हस्तान्तरण गरेका थियौं ।
यसरी निस्वार्थ भावनाले सामाजिक कार्य गर्दा धेरै सहयोगी मनहरु जोडिने, सबैको विश्वास जितिने र आवश्यक भएकाहरुका लागि ठूलो सहयोग पुग्ने गरेको महसुस मैले गरेको छु । कसले के भन्छ भन्दा पनि आफूले सहि गरिरहेको छु कि छैन ? यसबाट समाजलाई फाइदा छ कि छैन भनेर विचार गर्ने हो भने आनन्दको महसुस हुँदोरहेछ । चुनौती र समस्या त हरेक कुरामा आउँछन् । चुनौती र समस्याकै बीचमा गर्न खोजेको काम पूरा हुँदाको आनन्द नै बेग्लै हुन्छ । सेवा एउटा प्यासन पनि हो । सामाजिक कार्य यो । कसैले गर भनेर गर्ने, नगर भनेर नगर्ने कार्य नैै होइन । अन्तरहृदयबाट गरिने कुरा भएकाले यो भन्दा अरु कुनै सेवा र उत्तम कार्य छैन भन्ने मलाई लाग्छ ।
जति धेरै सहयोगी एक ठाउँमा आउन सक्यो त्यत्ति धेरै लक्षित वर्ग लाभान्वित हुन्छन्, हामीले सन्चालन गरेका अभियानबाट यही सिकेको पाठ यही हो । अभियन्ता र लक्षित वर्गको खुुसी र आत्मसन्तुष्टि उत्तिकैै बढी मात्रामा मिल्छ । बास संस्थागत रुपमा सहयोग अभियानमा छ । अरु साथीहरु पनि यस्तै अभियानमा जुट्नु भएको छ । यसरी सबैमा सहयोगी भावना जागृत हुने हो भने समाजमा कसैले आफूलाई एक्लो महसुस गर्नुपर्दैन, कोही आर्थिक अभावमा भोकै बस्नु पर्दैन, ओत लाग्ने छानो बिना दुःखी हुनुपर्दैन अनि स्वास्थ्योपचार नपाएर अकालमैै जीवन गुमाउनु पर्दैन । एकले अर्कोलाई हातेमालो गर्दै सानो सहयोग गर्ने हो भने कसैले केही गुमाउनु पर्दैन । अभाव, गरीबी र बेसाहारा जीवन निर्वाह गर्नेहरुको मुहारमा खुसी ल्याएर नयाँ जीवन दिन सकिन्छ । जुन धेरै दानदातव्य वा तीर्थब्रतग गरेभन्दा पनि धेरै पुन्यको काम हुन्छ । आउनुस्, सामाजिक वास्तविक समस्या समाधान गर्न हातेमालो गरेर अघि बढौं । (लेखक शाह सुशासनका क्षेत्रमा क्रियाशील संस्था बासका कार्यकारी निर्देशक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *