अनिता र सुनिताले जिते उत्कृष्ट र लोकप्रिय योगाशन फोटो उपाधि

राष्ट्रिय योग आशन फोटो प्रतियोगितामा अनिता दुलालको उत्कृष्ट योग आशन फोटो । फोटो सौजन्य : द आर्ट अफ लिभिङ

नेपालगन्ज : काठमाडौंका अनिता दुलाल र सुनिता कँडेलले उत्कृष्ट र लोकप्रिय योग आशन फोटो प्रतियोगिताको उपाधि जितेका छन् ।
द आर्ट अफ लिभिङ नेपालले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना गरेकोे राष्ट्रिय योग आशन फोटो प्रतियोगितामा काठमाडौंको गोलढुंगा निवासी दुलालले शीर्षाशन गरेको फोटो उत्कृष्ट भएको हो ।

राष्ट्रिय योग आशन फोटो प्रतियोगितामा सुनिता कँडेलको लोकप्रिय योग आशन फोटो । फोटो सौजन्य : द आर्ट अफ लिभिङ

त्यसैगरी काठमाडौंकैै गौरीघाट (कुमारीगाल) की कँडेलको हनुमान आशनको फोटो लोकप्रिय फोटो भएको छ । द आर्ट अफ लिभिङको सामाजिक सञ्जालमा राखिएका सबै फोटोमध्ये उनको फोटोेलाई धेरै लाइक र कमेन्ट गरिएको थियो ।
फोटो प्रतियोगितामा आर्ट अफ लिभिङ नेपालका महासचिव सन्दीप शाह, वरिष्ठ प्रशिक्षक र फिटनेस ट्रेनरद्वय रितिका लोहिया र कञ्चन राणा निर्णायक थिए । प्रतियोगिताको उत्कृष्ट र लोकप्रिय फोटो विजेता दुबै जनालाई पुरस्कार स्वरुप गुरु पूर्णिमा विशेष आर्ट अफ लिभिङको दोस्रो तहको ध्यान कार्यक्रममा निःशुल्क सहभागी हुने अवसर पाउने र एक थान योग म्याट प्रदान गरिएको कार्यक्रम संयोजक काव्य लम्सालले बताए । प्रतियोगितामा देशभरबाट ७० जनाले अनलाइन मार्फत फोेटो पठाएर सहभागिता जनाएका थिए ।

त्यसैगरी, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजना द आर्ट अफ लिभिङ नेपालले आयोजना गरेको योगाथन सूर्य नमस्कार प्रतियोगितामा १०८ पटक सूर्य नमस्कार गरेर एक सय ६ जनाले गोल्ड मेडल र ५४ पटक (लक्ष्यभन्दा आधा) सूर्य नमस्कार गर्ने ३६ जनाले सिल्भर मेडल सर्टिफिकेट प्रदान गरिएको कार्यक्रम संयोजक लम्सालले जानकारी दिए । सूर्य नमस्कार प्रतियोगितामा नेपालसमेत गरी विश्वका १० देशका चार सय १५ जनाले भाग लिएका थिए । सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।