बाँकेमा विकास बजेट खर्च न्यून

संघीय सरकार मातहतका कार्यालयतर्फ ७५.५१ प्रतिशत र प्रदेश सरकारका कार्यालयतर्फ ५८.८४ प्रतिशत विकास बजेट खर्च


नेपालगन्ज : आर्थिक वर्ष ०७६/७७ मा बाँकेका सरकारी कार्यालयहरुको विकास बजेट खर्च न्यून भएको छ ।
संघीय सरकार अन्तगर्तका कार्यालयहरुमा कूल विनियोजित ७ अर्ब १० करोड ३८ लाख रुपैयाँमध्ये ५ अर्ब ३६ करोड ४४ लाख रुपैया खर्च भएको हो । यो कूल विनियोजित पूँजीगत बजेटको ७५.५१ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेले जनाएको छ । त्यस्तै, प्रदेश सरकार अन्तगर्तका कार्यालयहरुको खर्च भने अझै न्यून भएको छ । आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकार अन्तगर्तका कार्यालयको पूूँजीगततर्फ कुल विनियोजित १ अर्ब ३० करोड ७ लाख रुपैयाँमध्ये ७६ करोड ९१ लाख रुपैया मात्रै खर्च भएको हो । यो कूल पूँजीगत बजेटको ५८.८४ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्माले बताए ।
संघीय र प्रदेश सरकार अन्तगर्तका जिल्लास्थित कार्यालयहरुको विकास बजेट कम खर्च भए पनि चालु खर्च भने धेरै भएको छ । चालु खर्च अन्तगर्त संघीय कार्यालयको ९३.३६ र प्रदेश कार्यालयहरुको ८१.२१ प्रतिशत खर्च भएको हो । जिल्लाका कुनै पनि स्थानीय तहहरुले हालसम्म विवरण नबुझाएका कारण उनीहरुको विवरण अध्यावधिक हुन नसकेको कोलेनिकाले जनाएको छ ।