वर्षा हुँदा श्रीलङ्कावासी रातभर जाग्राम

मानबहादुर ठकुल्ला । टीकापुर

‘नदीले कटान तिब्र पारेको छ। नदीले धार परिवर्तन गरेर जमिनमा बगिरहेको छ’, स्थानीय झपट बुढाले भने, ‘वर्षा आउँदा बाढी आउने डरले सुत्दैनौँ।’

निरन्तर वर्षा हुँदा कर्णाली नदीमा पानीको बहाव बढ्छ । टीकापुर–८ श्रीलङ्कावासी नदीले कटान शुरु गर्न थालेपछि रातभर निदाउन सक्दैनन्। झपट मात्र होइन, अधिकांशको पीडा उस्तै छ । ‘पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौँ’, स्थानीय शिक्षक शेरबहादुर बुढा भने, ‘पानी धेरै परेको दिन हामी सुत्नै सक्दैनौँ, अग्लो ठाउँमा गएर रातभर बसिराख्छौँ। वर्षायाम त्रासमै बित्छ। वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ।’
कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा रातभर जाग्राम बस्ने गरेका छन्।सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन्। चैतमै नदी कटान शुरु भएको पछि पानी पर्दा स्थानीय चिन्तित हुन्छन्।
पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान शुरु हुन्छ। यहाँ स्थानीयको सयौँ बिघा जमिन नदीमा मिसिएको छ। हरेक वर्ष नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलवीरे टमट्टा, सुरबिर चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौँ बिघा जमिन नदीमा मिसिएको छ। “नदीले बर्सेनि २० बिघाभन्दा बढी जमीन कटान गर्छ। साविक धनसिंहपुर गाविसको वडा नं १ पूरै कटान भएर नदी बगिरहेको छ”, कालु बुढाले भने, ‘पछिल्ला तीन वर्षमा मात्रै एक हजार बिगाहा जति जमिन कटान भएको छ।’
नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ। “सबै बाली राम्रो फल्छ, बर्सेनि कटान हुँदै जान थालेपछि कतिपयले खेती लगाउनसमेत छाडेका छन्’, बुढाले भने, ‘यहाँ पहिले ५०० घर थिए। अधिकांश विस्थापित भइसके। अब हामी करिब ८० परिवार मात्र छौँ। हाम्रो जतिबेला पनि उठिबास लाग्नसक्छ।’ कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो। बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो।
यहाँ विसं २०६० बाट नदीले कटान शुरु गरेको हो, तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ। नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयवासीले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ। कर्णाली नदीले श्रीलङ्कामा वर्षभरि नै कटान भइरहेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।
‘कटान नियन्त्रणका लागि प्रदेश र सङ्घमा पहल गरिरहेको छु, सुनुवाइ नहुँदा किसानले उर्वरभूमि गुमाइरहेका छन्’, ठकुल्लाले भने, ‘बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट तीव्र कटान भइरहेको छ। नदीको कटान नियन्त्रण नभए श्रीलङ्काको बस्ती नै जोमिखमा पर्छ।’ नदी कटान तीव्र भएपछि केही दिनअघि स्थानीयवासी आफैँले जैविक तटबन्ध गरे। नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयस्तरमै रहेका झालापाता र काठको प्रयोग गरी तटबन्ध बनाएको स्थानीयवासी बताउँछन्।
कर्णाली नदीमा सिँचाइ आयोजनाले विगत पाँच वर्षदेखि तटबन्ध निर्माणको काम गर्दै आएको छ। यसअघि करिब ६०० मिटर तटबन्ध निर्माण भएको छ। आयोजनाले सिद्धि साइ कन्ट्रक्शनलाई एक हजार ६०० मिटर तटबन्ध निर्माणका लागि ठेक्का दिएको थियो। निर्माण कम्पनीले समयमै तटबन्ध नगर्दा बस्ती जोखिममा परेको हो।
‘हरेक वर्ष निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौँ’, वडाध्यक्ष ठकुल्लाले भने, ‘ठेकेदारको लापरवाहीले समयमै तटबन्ध निर्माण भएन, तटबन्ध नबन्दा बस्ती सखाप हुने चिन्ता बढेको छ।’ वडाध्यक्ष ठकुल्लाले बस्ती कटानबाट कसरी जोगाउन सकिएला भनेरसिँचाइ आयोजना र नगरपालिकाबीच छलफल भएको बताए।