बाढीमा बगेर बेपत्ता अर्को १ जनाको शव फेला

मानबहादुर ठकुल्ला । भजनी
कैलालीमा बुधबार बाढीमा बगेर बेपत्ता भएका अर्को एक जनाको पनि शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर धामीका अनुसार भजनी नगरपालिका ८ का ४० वर्षिय ईश्वर शाहको शव शुक्रबार फेला परेको हो ।
शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्दार गर्ने क्रममा चिफ्लिएर बाढीमा बेपत्ता भएका थिए ।
बुधबारको बाढीमा बेपत्ता भएका तीन जना मध्ये बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको वडा अध्यक्ष पंकज चौधरीले बताए । उनले भने–‘आज पानी पनि रोकिएको छ, पानीको सतह पनि घटेकाले बेपत्ता बिकको खोजी कार्य भैरहेको छ ।’
बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।
बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए । ती मध्ये २ हजार भन्दा बढी परिवार विस्थापित रहेका छन् । उनीहरु अहिले विद्यालय, हुलाकी सडकलगायतका ठाउँमा बसिरहेका छन् ।