नेपालगन्जमा वडा अध्यक्षलाई लक्षणसहित कोरोना

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को लक्षणसहित नेपालगन्जमा एक जना वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा सोमबार बिहान नेपालगन्जका एक जना वडा अध्यक्ष र शाखा अधिकृत स्तरका करारका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । वडा अध्यक्षलाई ज्वरो र स्वासप्रश्वास सम्बन्धी चिन्ह र लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सोमबार बिहान संक्रमण देखिएका दुबै जनालाई खजुराको क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।