७ किरियापुत्री होम आइसोलेसनमा, २२ घरका १०९ मलामी क्वारेन्टाइनमा

बर्दियाको मधुवन नगरपालिका–९ को शिल गरिएको बस्ती । फोटो सौजन्य : अमृता बस्नेत

गुलरिया : कोरोना संक्रमणबाट मृत्यु भएका बर्दिया जिल्लाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मंगलबार दाहसंस्कारमा प्रत्यक्ष संलग्न एक सय १६ जनालाई होम आइसोलेसन, होम क्वारेन्टाइन र क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार संक्रमितको दाहसंस्कारमा संलग्न ७ किरियापुत्रीलाई होम आइसोलेसन, २२ घरका ९६ जनालाई होम आइसोलेसन र १३ जनालाई नेरामावि पूर्णपुरमा क्वारेन्टाइनमा राखिएको छ ।
प्रशासनले मलामी गएर शवसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम आइसोलेनमा बस्न आग्रह गरेको छ । प्रजिअ अधिकारीले आग्रह गरे, ‘हामीले थाहा पाएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिसकेका छौं । मलामी गएर शवसँग प्रत्यक्ष सम्पर्क भएका कोही व्यक्ति हुनुहुन्छ भने कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बसिदिनु होला ।’ मधुवन नगरपालिका ९ का वडा अध्यक्ष डिल्लीराज खनालले मलाई गएका धेरै व्यक्ति भएको आधारमा वडाको १२ र १३ नम्बर टोललाई पूरै शिल गरेर आवतजावत ठप्प पारिएको बताए ।
मधुवन–९ का ती पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएको थियो । कोरोन रिपोर्ट नआउँदै शव घर लगेर बबई नदीको कुसुम्माघाटमा दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थाहा भएको थियो ।