वाटरपार्क क्षेत्रका जग्गाधनीलाई स्थायी लालपूर्जा वितरण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई एक दशकपछि जग्गा धनी स्थायी प्रमाणपत्र (लालपूर्जा) वितरण सुरु गरेको छ ।
नगर प्रमुख डा। धवलशम्शेर राणा र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले आइतबार उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् । नगर प्रमुख राणाले वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भइ काम सम्पन्न हुने चरणमा पुगेको बताए । अब सो क्षेत्रमा सडक, खानेपानी, विद्युतलगायतका कामका लागि ८० करोड रुपैयाँभन्दा बढीको टेण्डर प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ । वाटर पार्क जग्गा एकीकरण परियोजना उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा पर्छ । वाटरपार्क परियोजना अन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाइन र रङ एकै प्रकारको हुनेछ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भईरहेको नगर प्रमुख राणाको भनाई छ । २०६७ सालमा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् । वाटरपार्क परियोजना अन्तर्गत ६६२ जनालाई स्थायी पुर्जा वितरण गरिदैछ । बाँकी रहेको जग्गा भने प्लटिङ गरि बिक्री गरिनेछ । वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ ।