नेपालगन्जको सीमा नाकामा अलपत्रहरु भन्छन्, ‘कोरोनाभन्दा भोक र शोकले मर्छौ कि ?’
मेरो खुसी संवाददाता
जैसपुर (बाँके) : ‘मरे आफ्नै देशमा मरौंला’भन्दै लकडाउनकै बीच नेपालगन्जको सीमा नाका जैसपुरमा दुई दिनदेखि अलपत्र परेकाहरु अरु रोग लागेर मर्ने चिन्ता गरिरहेका छन् ।
सो स्थानमा भारतका विभिन्न राज्यबाट आएका एक सय ५६ जना नेपाली अलपत्र परेका छन् । एक सय ६४ जना रहेकोमा तीन जना महिला र ५ बालबालिका गरी आठ जनालाई भने नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।
मुगुका नन्दनाथ योगी भन्छन्, ‘कोरोनाबाट जोगिएला भनेर जोखिम मोलेर आएको भोक, शोक र सुर्ताले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’
खुला आकासमा बस्दा रातभरी लामखुट्टेले टोक्ने र ओढ्ने ओछ्याउने कुरा नहुँदा अरु रोग लाग्ने खतरा पनि उनीहरुले देखिरहेका छन् । दिउँसो चर्को गर्मी हुने र राति पुस माघ महिनाको जस्तो जाडो हुने पनि उनीहरुले गुनासो गरेका छन् । आँपको बोटमुनी राखिएका उनीहरु खानाको पनि नियमितता नभएको बताउँछन् । कसैले दिएमा खाने नभए भोकै बस्नुपर्ने अवस्था छ ।
सबैभन्दा ठूलो समस्या त शौचालयकै छ । उनीहरु सबै खेतमै जाने गरेका छन् । नजिकै खेत भएकाले लामो समय सोही स्थानमा बस्दा फोहरका कारण झाडापखालाको समस्या हुने पनि देखिन्छ ।
आफू भारतबाट स्वास्थ्य चेकजाँच गरेर आए पनि सबै चेकजाँच नगरेका व्यक्ति भएकाले समूहमा बस्दा झन जोखिममा परेको बताउँछन् । बर्दियाको ठाकुरबाबा नगरपालिका १ डुम्रेनी गाउँका झलक थापा । उनले भने, ‘कोरोनाको डरले हामी छुट्टा छुट्टै आयौं । डेढ सयभन्दा बढीलाई एकै ठाउँमा राखेका छन् । संक्रमित भए रोग सर्ने खतरा छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का भने गृहमन्त्रालयको आदेश नहुँदा उनीहरुलाई रोकेर राखेको बताउँछन् । उनले रोकिएको ठाउँमै १४ दिन क्वारेन्टाइन बनाएर राखिने बताए ।