एक किस्ता मात्र बुझाएका वैश्यको निधनपछि छोरालाई ५ लाखको बिमा भुक्तानी

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको त्रिवेणी मोडका विनोदकुमार वैश्यले ४ वर्षको छोराको नाममा शिक्षाका लागि ५ लाखको बिमा गरेका थिए । हरेक वर्ष ३७ हजार रुपैयाँको किस्ता तिर्नुपथ्र्यो । एक किस्ता मात्र बुझाएका उनको मृर्गौला रोगबाट निधन भयो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार वैश्यका छोरालाई बिमा वापत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको नेपालगन्ज शाखाका मुख्य व्यवसाय प्रबन्धक गंगा पराजुलीले वैश्यकी पत्नी नितु वैश्य र ४ वर्षका छोरा सौर्य वैश्यलाई पाँच लाख रुपैंयाँको चेक हस्तान्तरण गरेकी हुन् । पराजुलीले पहिलो किस्ता बुझाएपछि अभिभावकको निधन भएकाले बाँकी किस्ता सबै मिनाहा हुने र १५ वर्षपछि उच्च शिक्षाका लागि सौर्य वैश्यलाई थप १० लाख रुपैयाँ उपलब्ध हुने बताइन् । उनले भनिन्, ‘अभिभावकको निधन भएकाले बिमाको बाँकी किस्ता तिर्नु पर्दैन । बिमा चलिरहन्छ । १५ वर्षपछि इन्स्योरेन्सले बिमाको थप १० लाख रुपैयाँ उपलब्ध गराउनेछ ।’ इन्स्योरेन्स क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील पराजुलीले बाँके, बर्दियालगायतका जिल्लाका गरी साढे दुई हजारभन्दा बढीलाई बिमा गराउन सफल भएकी छन् । उनको सुझाव थियो, ‘जीवन बिमा दुःख र सुखका लागि हुन्छ । यो नियमित र अनिवार्य बचत पनि हो । आश्रितका परिवारका लागि आर्थिक राहात पनि हो ।’ बिमा भुक्तानी कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कैैफुलवरा जोलाह, वैश्य समाजका प्रतिनिधि, उद्योगी, व्यवसायी र पत्रकारले जीवन विमाको फाइदाका विषयमा धारणा व्यक्त गरेका थिए ।