बाँकेमा कटुवा पेस्तोलसहित एकजना पक्राउ

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ स्थित दिपक कुमार चौधरी (वर्मा) लाई उनको पसलवाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । चौधरीले संचालन गरेको पसलमा अवैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा आईतवार दिउसो १ः३० बजे विशेष प्रहरी टोली परिचालन गरी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  
बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चौधरीले कम्मरको दाँया तर्फ बेल्टले च्यापी राखेको अवस्थामा एक थान कुटवा पेस्तोल फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका अभियुक्त चौधरी सहित विभिन्न अभियोगमा प्रक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा ६ महिनाको अवधीमा ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिईएको थियो ।