संसद विघटनविरुद्ध सबै दल एक नभए राष्ट्रियता खतरामा पर्छ : डा.बाबुराम भट्टराई

मानबहादुर ठकुल्ला । टीकापुर
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा.बाबुराम भट्टराईले असंवैधानिक संंसद विघटन तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनबिरुद्ध सबै दल एक भएर सशक्त आन्दोलन नगरे देशमा राष्ट्रियता खतरामा पर्ने बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं. १ कैलालीको आयोजनामा बुधबार टीकापुरमा आयोजना गरिएको विरोध कार्यक्रममा नेता भट्टराईले निरंकुशतातर्फ अग्रसर प्रधानमन्त्री ओलीलाई संवैधानिक रुपमा बाँध्न नसक्दा देश झन-झन संकटमा पर्ने बताए । उनले भने, ‘हामी राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग लडेका छौं । अब केपी ओलीको निरंकुशताको विरुद्धमा पनि सबै दल एकजुट भएर आन्दोलन गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन सबै दलका नेताहरुसँग आग्रह गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सांसद प्रमोद शाह, कृष्ण चौधरी, चुन्नी चौधरी, दामोदर पण्डित, हरि तिमिल्सिना, भगतराम चौधरी, श्रेष्ठ रन्जितालगायतले धारणा राखेका थिए ।