नेपालगन्ज विमानस्थलमा लगातार २ दिनदेखि उडान रद्द, २६०० यात्रीको बिचल्ली

नेपालगन्ज : बाक्लो हुस्सुकुहिरोको कारण दोस्रो दिन पनि नेपालगन्ज विमानस्थलबाट कुनै पनि विमान उड्न सकेनन् । त्यत्तिकै संख्यामा विमानले अवतरण पनि गर्न पाएनन् ।
नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार खराब मौसमका कारण नेपालगन्ज–काठमाडौं उडान भर्ने बुद्ध, यति र श्रीएयरका २ दिनका १४ जहाज र पहाडी जिल्लामा उडान भर्ने सीता, समिट र तारा एयरका आधा दर्जन जहाज कुनैले उडान भर्न सकेनन् । ‘एकैदिन कम्तीमा १३ सय यात्री उडानबाट बञ्चित भए’, ठाकुरले प्रष्ट पारे, ‘जति संख्यामा नेपालगन्जबाट यात्रीले उडान भर्न पाएनन्, त्यत्तिकै संख्यामा यात्रीले अवतरण पनि गर्न पाएनन् ।’
नेपालगन्जको मौसम बुधबारभन्दा केही सुधार भए पनि विमान उडान गर्न मिल्ने हुन नसकेको जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका प्रमुख पलबहादुर विकले बताए । विमान उड्नका लागि कम्तीमा पनि १६०० भिजिविलिटी चाहिन्छ । बिहीबार कम्तीमा २०० मिटरदेखि बढीमा १००० मिटरसम्म भिजिविलिटी पुगेको थियो । नेपालगन्जमा बिहीबार अधिकतम् तापक्रम १४ डिग्रीसेल्सियस र न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस पुगेको थियो ।