नेपालगन्जको बुद्धनगरमा सामुदायिक सुरक्षा साइरन जडान

नेपालगन्ज : बाँकेमा पहिलो पटक नेपालगन्जमा सामुदायिक सुरक्षा साइरन जडान गरिएको छ ।

समुदायमा हुने विभिन्न अपराधिक घटनामा कमी ल्याइ शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका १८ बुद्धनगर टोलमा सामुदायिक सुरक्षा साइरन तथा सीसीटिभि जडान गरिएको हो । बुद्धनगर टोलसुधार समितिमा आवद्ध ३५ वटा घरबाट २ हजार रुपैयाँका दरले रकम संकलन गरी जडान गरिएको कम्युनिटि सेक्युरिटी साइरन एण्ड सीसीटिभिको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । यो प्रविधिको प्रयोगले टोल समुदायमा हुने चोरी, डकैती, लुटपाट, लागूऔषध लगायत अन्य अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास नेपालगन्ज उपमहानगरकी उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँग र प्रहरी प्रमुख ओमजंग राणाले व्यक्त गरे ।


टोलमा कुनै पनि समस्या आइपरेमा मोबाइलबाटै दिइएको कोड थिचेर टोलवासीले आफै साइरन बजाउन सक्नेछन् । साइरनको आवाज सुनेपछि र मोबाइलमा म्यासेज हेरेर सम्बन्धित व्यक्तिको घरमा पुगी समस्या समाधान गर्ने विश्वास टोल सुधार समितिका अध्यक्ष राजेश केशर खनालको छ । प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहज हुने भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी यो अभियानलाई बढावा दिने जनाएको छ ।