बाँके-बर्दियाका पर्यटन व्यवसायीद्वारा पोखरा महानगरपालिकालाई ५ बुँदे ज्ञापन-पत्र
पोखरा : बाँके र बर्दियाका पर्यटन व्यवसायीहरुले पश्चिम नेपालका पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग र सहकार्यको माग गर्दै पोखरा महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपालगन्ज पोखरा विमान सेवाको शुभारम्भको अवसरमा पोखरा भ्रमणमा पुगेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवालले बाँके र बर्दियाका पर्यटन व्यवसायीको तर्फबाट पोखरा महानगरपालिका प्रमुख मानबहादुर विसीलाई आइतबार ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
कार्यक्रममा पोखराका नगर प्रमुख विसीले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न नेपालगन्ज उपमहानगरपालिकासँग संस्थागत रुपमा सम्झौता गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए । नाट्टा बाँकेका महासचिव झविलाल शर्माले नेपालगन्ज पोखरा उडानमा नेपालगन्ज उपमहानगरपालिकाले नियमित रुपमा निश्चित टिकट कोटामा सहयोग गर्ने प्रतिबद्धताबारे जानकारी गराएपछि नगर प्रमुख विसीले संस्थागत रुपमा सम्झौता भए पोखराबाट हुने उडानमा आफूहरुले पनि नियमित रुपमा टिकट कोटामा सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ र पर्यापर्यटन प्रबद्र्धन विकास मञ्च ठाकुरद्वारा बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले पश्चिमको पर्यटन विकासमा पोखरासँग सहकार्य हुँदा दुबै क्षेत्रका पर्यटकीय क्षेत्रलाई फाइदा पुग्ने बताएका थिए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पनि पोखरा महानगरपालिकासँग पोखरा नेपालगन्ज विमान सेवा सञ्चालनमा रहेको विषयमा वडा वडामा सूचना प्रवाह गर्न आग्रह गरेका थिए ।
अवलोकन भ्रमणबाट पर्यटनकर्मी निकै खुसी
नेपालगन्ज पोखरा र पोखरा नेपालगन्ज विमान सुरु भएपछि शुक्रबार पोखराबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको अवलोकन गर्न आएका १७ सदस्यीय पोखरेली पर्यटन व्यवसायी र पोखराका पर्यटकीय गन्तव्य पुगेका बाँके बर्दियाका १८ सदस्यीय पर्यटन व्यवसायी ३ दिने भ्रमणबाट निकै खुसी भएर फर्केका छन् ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा अवलोकनबाट फर्केको टोलीले पोखरामा बाँके बर्दियाको टोलीलाई विदाइ गर्दै नियमित रुपमा अवलोकनका लागि आउने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष सिग्देलले जंगल सफारीलगायतका नयाँ पर्यटकीय गन्तव्यको अवलोकन उत्साह थपेको बताए । पोखराबाट नेपालगन्ज फर्केका हान बाँकेका अनिल झाले पनि निकै आनन्द महसुस भएको बताए । बाँके, बर्दिया र पोखराका पर्यटन व्यवसायीहरुले विमान सेवाबाट आउने पर्यटकहरुका लागि सहुलियत प्याकेज दिने बताएका छन् ।