नेपाली कांग्रेस बर्दियाका २६ सदस्यले दिए सामूहिक राजीनामा
मुरली गोडिया । गुलरिया
नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दियाका कार्यवाहक सभापपतिसहित २६ सदस्यहरुले संयुक्त रूपमा राजीनामा दिएका छन्।
पार्टीको सदस्यता नविकरण गर्न खटिएका कार्यकर्ता माथि क्षेत्र नं. १ का सभापति मुक्तिनाथ यादवको नेतृत्वमा आएको अराजक समूहले नेताहरुलाई बाहिर निकाली हातपात गर्नुका साथै तालाबन्दी गरेकोले अनुशासनहीन कार्यलाई निरुत्साहित गर्न कारबाहीको माग गर्दै राजीनामा दिएको उनीहरुले बताएका छन् । उक्त कार्यमा संलग्न क्षेत्र नं. १ का सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाटलगायतका सदस्यहरुलाई पार्टी अनुशासनको कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार गुलरियामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यवाहक सभापति मिश्रीलाल यादवले यस्तो कार्य निन्दनीय भएको बताए । पार्टीको अधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण समयमा कार्यवाहक सभापति मिश्रीलाल यादव, महासमिति सदस्य विद्याप्रसाद खनाल, पार्टी सचिव जीवन मल्ल, जिल्ला सदस्य मेघबहादुर गुरुङलगायतका व्यक्तिहरू पार्टीको काम खटिरहेको थिए ।
यस्तो अवस्थामा बर्दिया क्षेत्र नं. १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्वसचिव तेजबहादुर भाटलगायतका व्यक्तिहरूले अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा गएर नेताहरुलाई लछारपछार गरी कार्यालय बाहिर ल्याइ पार्टी कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । सदस्यता नवीकरण गर्ने कार्य तीव्र गतिमा भइरहेको अवस्थामा पार्टीका यस्तो घृणित, अनुशासनहीन कार्य गरेको हुँदा यस्ता कार्यलाई निरुत्साहित गर्न निजहरूलाई पार्टी अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौँ ’ राजीनामा पत्रमा उल्लेख छ ।
कुनै पनि क्रियाशील सदस्य नविकरण बुझाउन नसकेकै कारण सदस्यबाट बन्चित नहोस् भनेर न्यूनतम शुल्कमा सदस्यता नविकरण गर्न सकिने निर्णयविरुद्ध उनीहरुले गुन्डाहरू परिचालन गरेकाले यस्तो अवस्थामा आफूहरू काम गर्न नसक्ने भन्दै राजीनामा गरेको जनाएका छन् ।