डीडीसीले नकिनेपछि ढोकामै दूध पोखेर विरोध, आयोजना प्रमुख साह भन्छन्, ‘भोलिदेखि मिलाउँछु, समाचार नबनाउनु’
नेपालगन्ज : दूध नकिनेपछि कोहलपुरका किसान विष्णु पोखरेलले डीडीसीको गेटमै ४० लिटर दूध पोखेर विरोध गरेका छन् ।
कोहलपुर-८ पिपरीमा प्रकृति गाईपालन केन्द्रका किसान पोखरेलले मंगलबार साँझ दूध लिएर गएपछि नकिन्ने भनेर गेट नै बन्द गरेपछि दूध पोखेर हिँडेको बताए । पोखरेलले भने, ‘म ६ बजे नै दूध लिएर गएको थिएँ । आज कर्मचारी छैनन् । दूध खरिद गर्न मिल्दैन भनेर गेटभित्र पस्न दिएनन् । नियमित दिइरहेको ठाउँमा एक्कासी दूध बेच्न नपाएपछि विरोधमा दूध पोखेको हुँ ।’
डीडीसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र साहले दूध खरिद नगरेको र ढोकामै दूध फालेको स्वीकारे । समाचारका लागि मोबाइलमा सम्पर्क गर्दा प्र्रमुख साहले दूध पोखिएकोबारे संवाददातासँग समाचार नलेख्न आग्रह गर्दै अबदेखि पोखरेलको दूध किनिदिने आश्वासन दिएका थिए ।
‘भोलिदेखि तपाईको दूध मैले मिलाइदिन्छु, हाकिम साबले भन्नुभएको छ । मिलाएर भनिदिनु न । तर समाचार भने नबनाइदिनु होला । मेरो अनुरोध हो ।’ डीडीसीले बाँके, बर्दिया, दाङ र सुर्खेतमा दैनिक १२ हजार लिटर दूध संकलन गर्छ । लकडाउनपछि भने ६ हजार लिटर मात्र संकलन गरिरहेको जनाएको छ ।