एक लाख ७२ हजार बढी कोरोना संक्रमित निको भएर फर्किए

कोरानाबाट ३९ हजार १४ जनाले ज्यान गुमाए, संक्रमित पाँच लाख ९१ हजार दुई सय ६४ जनामा पाँच प्रतिशत अर्थात ३० हजार चार सय ११ जना गम्भीर बिरामी
फोटो : इन्टरनेटबाट

मेरो खुसी डेक्स
नेपालगन्ज : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढेको छ ।
कोरोनाबारे जानकारी दिने वेभसाइट व्लडोमिटर्स इन्फोको मंगलबार अपरान्ह यो समाचार तयार पार्दासम्म कोरोना संक्रमण भएका मध्ये एक लाख ७२ हजार तीन सय १९ जना उपचारपछि निको भएर फर्किसकेका छन् । हाल संक्रमित बिरामीहरु पाँच लाख ९१ हजार दुई सय ६४ जना रहेकोमा पाँच प्रतिशत अर्थात ३० हजार चार सय ११ जना गम्भीर बिरामी रहेका छन् । तिनको भेन्टिलेटर र आइसीयूमा राखेर उपचार भइरहेको छ भने बाँकी पाँच लाख ६० हजार आठ सय ८८ जना सामान्य रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुले सावधानी अपनाए चाँडै निको हुने सम्भावना रहेको चिकित्सकहरुको भनाइ ।
दुई सय देशमा फैलिएको कोरोनाको संक्रमणबाट हालसम्म आठ लाख दुई हजार ६ सय ३९ जना संक्रमित भएका छन् । कोरानाकै कारण ३९ हजार १४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणबाट सचेत रहन र सम्भाव्य जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनले आग्रह गरिरहेका बेला कोरोनाको रोकथाममा भएका प्रयासले केही सफलताका समाचार पनि छन् ।

नेपालमा भने अहिलेसम्म पाँच जनामा मात्र कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने अन्य चार जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।