भेरीको कोरोना ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हाराहारी मान्यता

नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्जको कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने पीसीआर प्रयोगशालालाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकै हाराहारीमा मान्यता दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आइतबारको पत्रकार भेटघाटमा विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनः परीक्षण (क्रस भेरिफिकेसन) गर्ने प्रयोगशालाको रुपमा मान्यता दिएको छ । नेपालगन्जसँगै धरानको प्रयोगशालालाई पनि सोही मान्यता दिएको हो । देशका सात वटै प्रदेशमा कोरोना प्रयोगशाला स्थापना भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिफिकेसन हुन्थ्यो । अरु प्रयोगशालाले पोजेटिभ देखाए पनि टेकुले गरेको परीक्षणको रिपोर्टलाई आधार मानेर कोरोनाको अवस्था सार्वजनिक गरिन्थ्यो । अब पश्चिम नेपालमा भेरी अस्पतालले पनि यो काम गर्नेछ ।
भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले आइतबार दिउँसोदेखि कोरोनाको परीक्षण सुरु भइसकेको बताए । अस्पतालमा शनिबार नै संकलन गरिएका स्वाबको आइतबार परीक्षण गरिएको हो । एउटा स्वाबको रिपोर्ट आउन कम्तीमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ ।