नेपालमा कोरोना जितेर घर फर्कने चार जना

नेपालगन्ज : विश्वमा कोरोना महामारी बढ्दै गएको बेला नेपालमा भने संक्रमित दिनदिनै निको भएर घर फर्कन थालेका छन् ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ३१ संक्रमितमध्ये चार जना निको भएर घर फर्किसकेका छन् ।
शनिबार टेकु अस्पतालबाट दोस्रो संक्रमित फान्सबाट फर्किएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी थिईन । त्यस लगत्तै बेल्जियमबाट फर्किएकी ६५ वर्षीया महिला पनि शनिबार नै निको भएर धौलागिरी अस्पताल बाग्लुङबाट घर फर्किएकी थिइन् । दुबै जनाको २४ घण्टाभित्र दुइटा नतिजा लगातार नेगेटिभ आए पछि अस्पतालले डिस्चार्ज गरेको थियो । त्यस्तै, आइतबार कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीया युवक राज वि.क कोरोना संक्रमणलाई जितेर घर फर्केका छन् । उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् । चैत्र ११ गते भारतवाट क्वारेन्टाइनमा बसेका उनलाई २२ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । यसअघि गत फागुन ९ गते चीनबाट आएका एक विद्यार्थीमा नेपालमा पहिला कोरोना संक्रमण भएको थियो । उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोना सन्त्रासकाबीच नेपालमा संक्रमितहरु निको भएर घर फर्किन थालेपछि कोरोनाविरुद्धको लडाईमा नेपालले जित हासिल गर्ने आशा पलाएको छ ।