नेपालगन्जको शिक्षण अस्पताल आइसोलेसनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट नेगेटिभ

भेरी अस्पताल नेपालगन्जबाट पीसीआर मेसिनको परीक्षण सुरु भएको र अस्पतालको कोरोना परीक्षणको रिपोर्टको अवस्था फेसबुकबाट सार्वजनिक
फाइल फोटो

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा शनिबार मृत्यु भएका बर्दिया गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षीय स्माइल बेहनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पातालको आइसोलेसनमा मृत्यु भएपछि उनको स्वाब नेपालगन्जको भेरी अस्पतालको पीसीआर मेसिनबाट जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको हो । बेहनाको कोरोना रिपोर्ट नआउँदा शव शिक्षण अस्पतालमै राखिएको छ । उनीसहित भेरी अस्पतालमा नौ जनाको स्वाबबाट कोरोनाको जाँच भएको थियो । अस्पतालले कोरोना रिपोर्टको अवस्था फेसबुक पेजबाटै सार्वजनिक गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा र भेरी अस्पतालको फेसबुक पेजमा सोमबार बिहान पौने दुई बजे बजेतिर ‘भेरी अस्पतालमा आरटीपीसीआरबाट परीक्षण गरिएका नौ वटै सेम्पलहरु नेगेटिभ’ भएको स्टाटसमार्फत सार्वजनिक गरिएको हो । यसअघि अघि पनि अस्पताले बहुप्रतिक्षित कोरोना प्रयोगशाला स्थापना गरिएको कुरा पनि फेसबुकबाट ब्रेक गरिएको थियो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले भेरी अस्पतालमा परीक्षण गरिएका सबैै जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन् ।