बर्दियाको वनमा भेटियो एक बोरा पैसा, कोरोना त्रासका कारण कसैले जिम्मा लिन नमानेपछि रुखमा झुन्डाएर राखियो

फोटो सौजन्य : रेशम अधिकारी

नेपालगन्ज :  बर्दियाको बाँसगढी नगरपालिकास्थित मानखोला नजिकको जंगलमा एक बोरा पैसा भेटिएको छ ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद चौधरीका अनुसार मंगलबार राति ८ः३० बजेतिर उक्त रकम भेटिएको हो । मानखोलाको पश्चिममा ५० मिटरको दुरीमा रहेको जंगलमा राजमार्गमा अलपत्र परेर राखिएका कैलालीका यात्रीहरुलाई घर पठाउने क्रममा सिरानीको ठूलो खोलभित्र एक बोरा पैसा भेटिएको हो । उनले भने, ‘सबै जनालाई घर पठाइसकेपछि एउटा सामान छुटेको भेटियो । खोलेर हेर्दा पैसा रहेछ । पैसासँगै भगवानको फोटो, चाउचाउ र एउटा ब्रस पनि छ ।’
कति पैसा छ भन्ने एकीन भइसकेको छैन । पाँच रुपैयाँदेखि माथिका धेरै नोटहरु छन् । कोरोना त्रासका कारण प्रहरीले पनि जिम्मा लिन नमानेपछि त्यो पैसा रुखमै झुन्डाएर राखिएको छ । ‘बोरामा पैसा कोले राख्यो होला ? किन राख्यो होला ? कतै पैसाबाट कोरोना सार्नलाई त होइन ? या कतै कसैको पैसा चोरेर ल्याएको त होइन ? खै के पो हो डर पो लाग्यो’ भनेर स्थानीय चिन्तित छन् । जिल्ला समन्वय समितिले सो रकम जिल्ला प्रशासन कार्यालय बर्दियालाई जिम्मा लगाउने तयारी गरेको छ ।