बेवारिसे बोरामा ५ रु.का झन्डै तीन हजार नोेट, कूल १६ हजार ७२६ रुपैयाँ

कैलाली/कञ्चनपुरको टोलीमा आएका एक जना अपाङ्ग ब्यक्तिको पैसा हुनसक्छ : इप्रका मोतिपुरका इन्सपेक्टर इन्द्रजित सुनार
बेवारिसे बोरामा भेटिएको पैसा । फोटो : इप्रका मोतीपुर

नेपालगन्ज :  बर्दियाको बाँसगढी नगरपालिका-३ मानखोला नजिकको भगवती सामुदायिक वनमा बेवारिस अवस्थामा फेला परेको एक बोरा रुपैयाँ २४ घण्टापछि बुधबार प्रहरीले नियन्त्रणमा लिएर गनेको छ ।
बाँसगढीमा रहेको इलाका प्रहरी कार्यालय मोतिपुरका इन्चार्ज इन्सपेक्टर इन्द्रजित सुनारले स्वास्थ्यकर्मीको सुझाव अनुसार पैसालाई सेनिटाइज गरी माक्स र पञ्जा लगाएर सर्सती गन्दा १६ हजार सात सय २७ रुपैयाँ फेला परेको बताए ।
उनका अनुसार त्यो पैसामा सबैभन्दा धेरै पाँच रुपैयाँका नोट दुई हजार नौ सय २१ वटा अर्थात १४ हजार ६ सय पाँच रुपैया छन् । १० रुपैयाँका एक सय १८ वटा नोटको एक हजार ८० रुपैयाँ, २० का २६ वटाको आठ सय ३२, भारतीय रुपैयाँ १० को नोट १२ वटा १ सय ९२ र अन्य भारु १, २ र नेपाली सिक्का पाइएको छ । पैसासँगै भगवानको फोटो पनि भेटिनु र एकैनासका नोट भेटिनुले पैसा मागेर संकलन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
राजमार्गमा अलपत्र परेका कैलाली र कञ्चनपुरको टोली मंगलबार तीन बजेतिर भगवती सामुदायिक वनमा आश्रय लिएर बसेका थिए । उनीहरु ७ बजेपछि त्यहाँबाट घर फर्केका थिए । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद चौधरी, स्थानीय उद्योगी विपिन पौडेललगायतको टोलीले मंगलबार राति ८ः३० बजेतिर प्रहरीको रोहबरमा पैसा रुखमा झुन्डाएर फर्केको पौडेलले बताए ।
‘टोलीमा एक जना खुट्टा अपाङ्ग भएका ब्यक्ति पनि थिए’, इप्रका इन्चार्ज सुनारले त्यो क्षण स्मरण गर्दै भने, ‘सुरुमा उनलाई भेट्दा खोच्याउँदै बोरा बोकेर हिँडेको जस्तो लाग्छ । घर जाने क्रममा बिर्सेको हुनसक्छन् ।’ पैसा हराएको ब्यक्ति खोजी गर्दै आएमा प्रहरीले हस्तान्तरण गर्ने र चोरी गरेर ल्याएको उजुरी भएमा कारबाही गरिने उनले बताए ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद चौधरीले पनि पैसा पट्याएको अवस्था हेर्दा कुनै अपाङ्ग व्यक्तिको हुनसक्ने बताएका छन् । उनले सबै रुपैयाँ इलाका प्रहरी कार्यालय बाँसगढीको जिम्मा लगाइएकाले हराएको व्यक्तिले जुनसुकै बेलामा आएर लैजान आग्रह पनि गरेका छन् ।