आरडीटीबाट कोरोना देखिएका नवलपरासीका वृद्धको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ

विराटनगरमा दुई जना र उदयपुरमा थप एक जना भारतीय नागरिकमा गरी नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, बुधबार थप दुईसहित अस्पतालबाट ७ जना डिस्चार्ज

नेपालगन्ज : -यापिड टेष्ट (आरडीटी) बाट कोरोना पोजेटिभ देखिएका नवलपरासीको बर्दघाट नगरपालिकाका ७८ वर्षका वृद्धको पीसीआर प्रविधिबाट कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख जनस्वास्थ्य अधिकृत गौरव ढकालका अनुसार प्रदेश ५ को भैरहवास्थित प्रादेशिक कोरोना प्रयोगशालामा पीसीआर प्रविधिबाट स्वाबको परीक्षण गर्दा बुधबार रिपोर्ट नेगेटिभ आएको बताए ।
नेपालमा बुधबार मात्र थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको पत्रकार भेटघाटमा विराटनगरमा दुई जना र उदयपुरमा थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पाइएको बताएका छन् । नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार टेकु अस्पतालमा २९ दिनदेखि उपचार गराइरहेका ३२ वर्षका पुरुष र सेती अस्पतालमा १९ दिनदेखि उपचार गराइरहेका ४० वर्षका अर्का पुरुष निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या सात पुगेको छ ।