भारतमा कोरोनाबाट ९३९ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट भारतमा नौ सय ३९ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी रुपमा कोरोना संक्रमणको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको मंगलबार बिहान ९ः३० बजेसम्मको रेकर्ड अनुसार भारतमा २९ हजार चार सय ५१ जना संक्रमित रहेकोमा नौ सय ३९ जनाको मृत्यु भएको हो । सात हजार एक सय ३७ जना मात्र निको भएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भने नौ सय ३४ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । उसले २१ हजार ६ सय ३२ संक्रमित रहेकामा ६ हजार आठ सय ६८ जना निको भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ३२ राज्यमै कोरोनाको संक्रमण देखिएको छ । मृतक भने ११ वटा राज्यमा मात्र छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भएको छ । त्यसपछि गुजरातमा एक सय ६२, मध्यप्रदेशमा एक सय १० र उत्तर प्रदेशमा ३१ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा एक हजार नौ सय ५५ जना संक्रमित छन् ।