बाँकेका मस्जिदमा कोरोना परीक्षण सुरु, नेपालगन्जको मस्जिदमा रहेका १० भारतीयको स्वाब संंकलन

नेपालगन्ज : बाँकेका मस्जिदमा रहेका भारतीय नागरिकको कोरोना जाँच सुरु भएको छ ।
मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा मंगलबार फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा शिक्षक, धर्मगुरू र विद्यार्थी गरी १० जनाको स्वाब लिइएको हो । पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनीहरुको कोरोना जाँचका लागि स्वाबको नमूना भेरी अस्पतालकोे कोरोना प्रयोगशालामा पठाइएको छ ।
नेपालगन्जको धार्मिक सद्भाव कायम राख्नका लागि बिहीबार बागेश्वरी मन्दिर परिसरका व्यक्तिहरुको पनि कोरोना जाँच गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले केही दिन अघि बाँकेका मस्जिदमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्ने निर्णय गरेको थियो । उदयपुरको मस्जिदमा बसेका भारतीयमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जलगायत देशका विभिन्न क्षेत्रमा परीक्षण गर्न दवाब बढेको छ ।