नेपालगन्जका वडाबाट सवा दुई करोडको राहात (सूचीसहित)

एउटा वडाले एक लाख रुपैैयाँदेखि साढे १७ लाख रुपैयाँसम्मको राहात वितरण

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले अहिलेसम्म सवा दुई करोड रुपैयाँ बराबरको राहात वितरण गरिसकेका छन् । छुटेकाहरुका लागि थप साढे १७ लाख ५० हजार रुपैयाँ बराबरको राहात बाँड्ने तयारी छ ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार मंगलबारसम्म पहिलो चरणमा वडाको बजेटबाट विपन्न र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने १२ हजार चार सय ६ जनालाई वडाबाट राहात बाँडिएको छ । प्रति परिवार एक हजार सात सय ५० रुपैयाँ बराबरको राहात सामग्री वितरण गरिएको छ । यो सबै राहात सामग्रीको रकम दुई करोड १७ लाख १० हजार पाँच सय रुपैयाँ हुन आउँछ । एक जना परिवारलाई १५ किलो चामल, पाँच किलो पिठो, दुई किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र एउटा साबुनको प्याकेज वितरण गरिएको छ ।
उपमहानगरमा वडाको राहात वितरणको अवस्थाको अभिलेख राखिरहेका कर्मचारी विमल गुरुङका अनुसार वडा नं. ५, १० र २० मा गरी थप एक हजार जनालाई राहात वितरणको तयारी भइरहेको छ । जुन रकम १७ लाख ५० हजार रुपैयाँको हुन्छ । नेपालगन्जमा सबैभन्दा बढी वडा नं. १६ ले नौ सय ९०, वडा नं. १९ ले नौ सय ७५, वडा नं. १४ ले नौ सय, वडा नं. ४ ले आठ सय ८२ र वडा नं. २२ ले सात सय जनालाई राहात बाँडेको छ (विस्तृत हेर्नुस् सूची) ।
उपमहानगरले मंगलबारसम्म भाडामा बस्ने एक हजार नौ सय ७१ जनालाई राहात बाँडेको छ । उनीहरुलाई १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक किलो नुन उपलब्ध हुुन्छ । यो राहात उपमहानगरको कोषबाट पोको पारेर वितरण गरिए पनि वडाको माग अनुसार नै उपलब्ध गराइएको छ । राहात वितरण जारी छ ।