मस्जिदमा कोरोना परीक्षण गरिएका सबै भारतीयको रिपोर्ट नेगेटिभ

बुधबार दिउँसो एकलैनीस्थित फूलवारी मस्जिदका ११ जनाको पनि स्वाब संकलन

नेपालगन्ज : नेपालगन्जको फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा कोरोना परीक्षण गरिएका १० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार साँझ ८ः४५ बजेतिर आएको पीसीआर प्रविधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । १० जना नै भारतीय रहेको भनिएकामध्ये सात जना भारतीय धर्मगुरु र तीन जना नेपाली सहयोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रष्ट पारेको छ ।
मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा मंगलबार साँझ ८ बजेतिर जिल्लाका सुरक्षा अधिकारी, जनप्रतिनिधि, धर्म गुरुहरु सम्मिलित टोली सहभागी भएर कोरोना जाँचका लागि स्वाबको नमूना संकलन गरिएको थियो । उनीहरुको स्वाब भेरी अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गरिएको थियो । बुधबार दिउँसो एकलैनीस्थित फूलवारी मस्जिदका ११ जनाको पनि स्वाब संकलन गरिएको छ ।