घर जान नपाएको आक्रोसमा क्वारेन्टाइनमा गाडी तोडफोड

नेपालगन्ज : नेपालगन्जको दशगजास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिले गृह मन्त्रालयले आदेशमा घर जान नपाएको आक्रोसमा गाडी तोडफोड गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले क्वारेन्टाइनमा गाडी तोडफोड भएको बताए । प्रहरीका अनुसार तीन वटा गाडीमा तोडफोड भएको छ । १५ दिन क्वारेन्टाइनमा बसेर घर फिर्ताका ६ वटा गाडी ल्याइएका थिए । उनीहरु गाडीमा बसेपछि गृहमन्त्रालयको आदेश भन्दै घर फर्कन रोक लगाइएको थियो ।

नेपालगन्ज १६ जैसपुरस्थित निर्माणाधीन सुख्खा बन्दरगाहमा टेन्ट गाडेर बनाइएको अस्थायी क्वारेन्टाइनमा दुई दर्जनभन्दा बढी जिल्लाका एक सय ८१ जनालाई राखिएको थियो । ३ जना महिला, तिनका पाँच सन्तान र तीन पुरुष गरी ११ जनालाई भने नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । बिहीबार दुबै क्वारेन्टाइनका गरी एक सय ९२ जनालाई ६ वटा बसमा सम्बन्धित जिल्ला पठाउने तयारी थियो । उनीहरुलाई घर पठाउनु अघि गरिएको कोरोना जाँचको रिपोर्टसमेत सबैको नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *