भारतमा दैनिक औसत ३२ जनाको मृत्यु, ९५८ नयाँ संक्रमित

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा दैनिक औसत ३२ जनाको मृत्यु भइरहेको छ भने दैनिक औसत ९ सय ५८ जना नयाँ संक्रमित फेला परिरहेका छन् ।
विश्वव्यापी रुपमा कोरोना अपडेट गर्ने वेभसाइट वल्डोमिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म भारतका विभिन्न राज्यमा कोरोनाबाट चार सय ४८ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १३ हजार चार सय ३० रहेको छ ।
सो साइटको अप्रिल १० देखि अप्रिल १६ सम्म एक साताको अवधिमा मात्र ६ हजार नौ सय ५ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा मात्र दुई सय २१ जनाले ज्यान गुमाए । अर्थात भारतमा मृतकको संंख्या एक सातामै आधाको हाराहारीमा छ । यो तथ्यांकले भारतमा कोरोना महामारी तिब्र गतिमा बढि रहेको देखिन्छ ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार बिहानसम्म चार सय २० जनाको मात्र मृत्यु भएको र संक्रमित संख्या १० हजार आठ सय २४ रहेको आफ्नो वेभसाइटमा पुष्टि गरेको छ ।
यो वेभसाइटलाई मात्र आधार मान्दा भारतका ३२ राज्यमै कोरोनाको संक्रमण फैलिएको छ । मृतकको संख्या भने २० राज्यमा मात्र छ । सबैभन्दा बढी महाराष्ट्र (मुम्बइ क्षेत्र) मा एक सय ८७ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि सोही राज्यमा बढी छन् । जहाँ दुई हजार नौ सय १९ जना कोरोना संक्रमित छन् । भारतको मध्यप्रदेशमा ५३, गुजरातमा ३६, दिल्लीमा ३२, तेलंगामा १८, आन्ध्र प्रदेशमा १४, उत्तर प्रदेशमा १३ लगायत रहेको छ । भारतको उत्तर प्रदेशमा दुई दिनको अवधिमा मृतकको संख्या दोब्बरभन्दा बढी भएको छ । संक्रमितको संख्या पनि बढेको छ ।
उत्तर प्रदेशमा दुई दिन अघि संक्रमित संख्या ६ सय ६० थियो भने मृतक संख्या ५ मात्र थियो । संक्रमित संख्या बढेर अहिले ७ सय ७३ पुगेको छ ।