कर्णाली प्रदेशमा डीडीसीको दूध बेच्न प्रतिबन्ध

नेपालगन्ज : दुग्ध विकास संस्थान (डीडीसी) को दूध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बेच्न प्रतिबन्ध लगाइएको छ ।
डीडीसीको कोहलपुरस्थित नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट शुक्रबार साँझ ६ बजे सुर्खेत लैजाँदै गरेको चार हजार सात सय ५० लिटर दूध बबईबाट प्रवेशमै रोक लगाएको आयोजना प्रमुख योगेन्द्र साहले बताए । ‘स्वदेशमै उत्पादन भएको कृषि उपजलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान कतै प्रतिबन्ध लगाइएको छैन तर सुर्खेतमा बेच्न लैजाँदै गरेको दूध रोकियो’, उनले मेरो खुसीसँग भने, ‘सुरक्षाकर्मीले प्रदेश सरकारको दूधजन्य पदार्थ आयात गर्न नदिने भन्ने आदेश छ भनेर रोकेका थिए ।’
बाँके, बर्दियालगायतका जिल्लामा रहेको मिल्क होलिडे हटाउँदै नयाँ बजारको खोजीमा डीडीसीले शुक्रबारदेखि वीरेन्द्रनगरको औद्योगिक क्षेत्रमा रहेको सुर्खेत डेरीलाई दूध बेच्न लागेको थियो । कृषि उपज दूध तथा दुग्ध पदार्थ संकलन, ओसारपसार तथा बिक्री वितरण निर्वाध रुपमा देशैभरी गर्न पाउने संघीय सरकारको नीति, नियम र कानुन छ । संंघीय सरकारको कानुनसँग बाझिने गरि कर्णाली प्रदेशले दूध तथा दुुग्ध बिक्री वितरण तथा ओसार पसारमा प्रतिबन्ध लगाउनु नेपालको संविधान र कानुन विपरित रहेको साह बताउँछन् ।
शुक्रबार मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहसचिव डा.हरिबहादुर केसीसहित तीन सदस्यीय द्रुत कार्य समूह गठन गरेर अत्यावश्यक खाद्यवस्तु अन्तर्गत दूध सहज ढुवानी गर्न आग्रह गरिएको छ । आयोजना प्रमुख साहले सुर्खेतमा दूध बिक्रीमाथि लगाएको प्रतिबन्धबारे द्रुत कार्य समूहलाई जानकारी गराइसकेको बताएका छन् ।