प्रदेश ५ का ७ जिल्लामा १९६ संक्रमित (सूचीसहित)

नेपालका कोरोना संक्रमित धेरै भएका ‘टप फाइभ’ जिल्लामध्ये प्रदेश ५ का बाँके, कपिलवस्तु र रुपन्देही क्रमशः पहिलो, तेस्रो र पाँचौं स्थानमा छन्

नेपालगन्ज : प्रदेश ५ ले कोरोना संक्रमणमा देशका सबै प्रदेशलाई उछिनेको छ । १२ जिल्ला रहेको प्रदेशमा ७ वटामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका सबै जिल्लामा कोरोना संंक्रमण भने प्रदेश २ (८ वटैमा) भएको छ । प्रदेश ५ का बाँके, कपिलवस्तु र रुपन्देहीले देशकै सबैभन्दा बढी कोरोना संक्रमित हुने टप फाइभ जिल्लामा दर्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार अपरान्हसम्म देशभर चार सय २७ जना कोरोना संक्रमित रहेकोमा झन्डै आधा अर्थात एक सय ९६ जना त प्रदेश ५ कै छन् ।
नेपालको सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला बाँके भएको छ । जहाँ ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा मात्र संक्रमितको संख्या ७३ छ । नरैनापुर ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ । बाँकेको नेपालगन्जमा २५ र खजुरामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश ५ मा कपिलवस्तु कोरोना संक्रमित बढी हुने देशकै तेस्रो जिल्ला हो । दोस्रो जिल्ला प्रदेश २ को पर्सा (९१ जना) हो । कपिवस्तुमा ५९ जना संक्रमित छन् । यो जिल्ला देशमा कोरोना संक्रमित बढी हुने तेस्रो जिल्लामा रहेको छ । देशको पाँचौ बढी संक्रमित भएको रुपन्देही जिल्ला पनि प्रदेश ५ मै पर्छ । जहाँ २८ कोरोना संक्रमित छन् । देशमा चौथो धेरै संक्रमित भएको जिल्ला भने उदयपुर (३३ जना) हो । प्रदेश ५ का दाङमा ४, नवलपरासी पश्चिममा ३, बर्दियामा २ र गुल्मीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।