अन्ततः नरैनापुरका ४१ कोरोना संक्रमितलाई कोहलपुरको पिपरीमा राखियो

लायन्स डेन्टल अस्पतालको आइसोलेसनबाट संक्रमितलाई पिपरीलगायतको आइसोलेसनमा लगिँदै । फोटो सौजन्य : नरेशबाबु श्रेष्ठ

नेपालगन्ज : नरैनापुरका कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित कृषि विकास बैंक तालिम केन्द्रमा आइसोलेसन अस्पताल बनाएर राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार राति नरैनापुरका ६४ जनामध्ये ४१ जनालाई पिपरीमा राखिएको हो । स्थानीयले कोरोना संक्रमितलाई राख्न नहुने भन्दै दुई दिनसम्म विरोध प्रदर्शन गरे पनि अन्ततः पिपरीमा अस्थायी आइसोलेसन अस्पताल बनाइएको छ । २२ जनालाई लायन्स डेन्टल अस्पतालका आइसोलेसन सेन्टरमा, महिलालाई खजुराको क्यान्सर अस्पतालमा राखिएको छ । बाँकेको कूल ९८ जना संक्रमितमध्ये क्यान्सर अस्पतालमा २७, लायन्स डेन्टलमा २२, पिपरीमा ४१ र दांगको बेलझुन्डी कोरोना अस्पतालमा ८ जनालाई राखिएको छ । बाँकेमा जम्मा ९९ जनामा कोरोना पुष्टि भएकोमा नरैनापुर ५ का एक युवाको मृत्यु भएको थियो ।