एउटै वडामा ५३ जना संक्रमित !

नरैनापुरका ६ वडामध्ये एक वटा बाहेक सबैमा कम्तीमा एक जनादेखि ५३ जनामा कोरोना संक्रमित छन् ।

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको ६ वडामध्ये ५ वटामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ४ बाहेक सबै वडामा कम्तीमा एकजनादेखि ५३ जनामा कोरोना संक्रमित छन् ।
नरैनापुर ५ मा मात्र ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । सोही वडाका २५ वर्षका युवाको गत आइतबार कोरोनाबाट मृत्यु भइसकेको छ ।
त्यसपछि धेरै संक्रमित वडा नं. २ मा नौ जना र वडा नं. १ मा आठ जना छन् । वडा नं. ६ मा दुई जना र वडा नं. ३ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानसम्म नरैनापुरमा मात्र ७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । गाउँपालिकाका झन्डै सबै वडामा कोरोना संंक्रमण देखिएकाले स्थानीयहरु त्रासमा छन् । ८ जनालाई दाङ र ६४ जनालाई बाँकेका तीन वटा आइसोलेसनमा राखिएको छ । एक जनाले भने ज्यान गुमाइसकेका छन् । गाउँपालिका दुई सय २३ जनाको थ्रोट स्वाब संकलन भएकोमा अझैं कोरोना रिपोर्ट आउन बाँकी छ ।