उच्चस्तरीय चिकित्सक सहित थप सुरक्षाकर्मी परिचालन गर्न माग

कोरोना संक्रमणको उच्च जोखिममा रहेको बाँकेको नरैनापुरमा तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न माग गरिएको छ । नरैनापुर गाउँपालिकाले कोभिड १९ का कारण क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको हो ।
शनिबार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत् नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड १९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरिएको हो । स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था देखिएकाले उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने गाउँपालिकाको ठहर छ । प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड(१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन ।
भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाले कोभिडकै कारण ज्यान गुमाएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *